Kathmandu Press

गैरआवासीय नेपालीबारे रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति सरोकारवालाको आपत्ति

काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा अभियान्ताहरुले नेताहरुकै कारण नेपाली युवाहरु विदेशिन परिरहेको अवस्थामा झाँक्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको तर्क गरेका हुन्। 
गैरआवासीय नेपालीबारे रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति सरोकारवालाको आपत्ति

काठमाडौं, कात्तिक १० : नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गैरआवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा दिएको अभिव्यक्तिप्रति सरोकारवालाले आपत्ति जनाएका छन्। 

काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा अभियान्ताहरुले नेताहरुकै कारण नेपाली युवाहरु विदेशिन परिरहेको अवस्थामा झाँक्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको तर्क गरेका हुन्। 

कार्यक्रमका एनआरएनए श्रीराम कँडेलले, झाँक्रीजस्ता नेताहरुको कारण आफूहरु विदेशिनुपरेको र नेपाल एशियाकै गरिब राष्ट्रमा रुपान्तरित भएको आरोप लगाए। उनले भने  ‘नेपालमा सिकेको राजनीतिक संस्कार नै विदेशमा पनि हुर्काउनु भएको रैछ भन्ने परेको छ।’ 

उनले कांग्रेस एमाले र माओवादीलगायतका राजनीतिक दलकै संस्कार र प्रवृति एनआरएनएमा देखिएको भन्दै आक्रोश पोखे। 
उनले भने ‘नेपालमा जुन राजनीतिले यो देशलाई बिगार्यो, कमजोर बनायो, अहिले एसियाको एक नम्बर गरिब भइसक्यो। अब विश्वको एक नम्बरमा पुर्याउने दौडमा नेताहरु छन्,।’

एनआरएनहरुले विदेशमा बाध्यताले त्यहाँको ग्रिनकार्ड, पिआर लगायतको सुविधा लिएको उनको भनाई छ। त्यहाँको ग्रिनकार्ड, पिआर लिनु नेपालीहरुका लागि रहर नभएर बाध्यता रहेको उनको दाबी छ। त्यहाँको सेवा, सुविधा लिन, बैंक खाता सञ्चालन गर्न लगायतका काममा त्यहाँको स्थायी आवासिय प्रमाण पत्र लिन नेपालीहरु बाध्य हुने उनको भनाई छ। 

नेताहरुले निर्वाचनको समयमै पनि विना पैसा भिषा र टिकट दिने नारा दिएर युवाहरुलाई देशबाट बाहिरिन बाध्य बनाएको उनको आरोप छ।  ‘राजनीति गर्ने रामकुमारी झाँक्रीजस्ताले बुझ्नुपर्ने विषय हो। उहाँहरुजस्ता नेताको कारण आज युवाको अवस्था जर्जर बनेको छ।’ उनले भने, ‘उनीहरु विदेशमा बस्दैगर्दा त्यहाँको वातावरणले त्यो कागजको खोस्टो घाँडो नहोस् भन्नका लागि त्यहाँको नागरिकता लिइहाले पनि त्यहाँको नागरिकता लिएपछि नेपालको वंशजको नागरिकता स्वत निष्कृय हुने भनेको छ। यसले बाध्यतावस विदेशमा जानेहरुको हृदयमा कुठराघात गरेको छ।’ 

त्यस्तै गैरआवासीय नेपाली संघका अभियन्ता कृष्ण खतिवडाले आफूहरुले भित्रभित्रै उठाइरहेको वहस झाँक्रीले सुनामीको रूपमा नेपाली राजनीतिमा ल्याइदिएको भन्दै धन्यवाद व्यक्त गरे। झाँक्रीको अभिव्यक्तिले यो मुद्दालाई हरेक घरघरमा पुर्याएको उनको तर्क छ। 

प्रायः एनआरएनएलाई विदेशमा दुःख नभएपनि आफूहरु आत्मसम्मानका  लागि बोलिरहेको उनले बताए। मूलवासीलाई विदेश लखेट्ने र विहारीले देश भर्ने काम भइरहेको उनको आरोप छ। 

कार्यक्रममा वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले, विश्वका २ सय १ देशमध्ये एक सय ८६ देशले दोहोरो नागरिकताको सिद्धान्त स्वीकार गरेको बताए। बेलायतका तत्कालिन प्रधानमन्त्री बोरिस जोनसन अमेरिकी नागरिक समेत भएको उनको दाबी छ। हालका बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि अमेरिकाको ग्रिनकार्ड होल्डर भएको उनको भनाई छ। त्यस्तै इमरान खान अमेरिकाको पनि नागरिक हुँदाहुँदै पाकिस्तानको प्रधानमन्त्री बनेको उनले बताए।

‘संसारमा अहिले २०१ वटा देश छन्। तीमध्ये करिब १५ वटा देशले दोहोरो नागरिकताको सिद्धान्त मान्दैनन्। त्यो बाहेकका देशले दोहोरो नागरिकताको सिद्धान्त स्वीकार गरेको छ,’– उनले भने। 
 

प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, कात्तिक १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्