Kathmandu Press

'गठबन्धनको एकता र सहकार्य कसैले तोड्न सक्दैन, भ्रम नपाल्दा हुन्छ’

जनयुद्धपछि ‘प्रचण्डपथ’ छाड्दा माओवादी विभाजन भएको उल्लेख गरेका प्रचण्डले राजनीतिमा विचार मुख्य कुरा हुने बताउँदै आफ्नै पथ रोकेकोप्रति दुःख मनाउ गरेका छन्।
'गठबन्धनको एकता र सहकार्य कसैले तोड्न सक्दैन, भ्रम नपाल्दा हुन्छ’

रूकुम पश्चिम, कात्तिक ९ : प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन सरकारको एकता र सहकार्यलाई कसैले तोड्न नसक्ने ठोकुवा गरेका छन्।
 
बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित ‘सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८०’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गठबन्धनले पाँचै वर्ष निरन्तरता पाउने दाबी दोहोर्‍याएका हुन्।

वर्तमान गठबन्धनले पाँचै वर्ष निरन्तरता पाउने उनको भनाई छ।

'यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो। तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन्,' उनले भने, “म तपाईलाई जोड दिएर भन्छु, यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ।'

जनयुद्धपछि ‘प्रचण्डपथ’ छाड्दा माओवादी विभाजन भएको उल्लेख गरेका प्रचण्डले राजनीतिमा विचार मुख्य कुरा हुने बताउँदै आफ्नै पथ रोकेकोप्रति दुःख मनाउ गरेका छन्।

'विचारको प्रश्न सबैभन्दा माथि हुन्छ। पहिला प्रचण्डपथ थियोे, त्यसले हामी सबैलाई केन्द्रीकृत र एकीकृत गरेका थियौं,' उनले भने, 'अहिले अलिकति अनेकता देखिएको छ। फेरि हामी विचार संश्लेषण गर्छौं र नयाँ विचारसहित अगाडि जान्छौं।'

त्यस्तै उनले कर्णालीको विकास आफ्नो प्राथमिकता रहेको एवं शान्ति प्रक्रियापछि रूकुमको मुहार फेरिएको धारणा राखे।

उनले कर्णलीको विकासका निम्ति धेरै काम भएपनि त्यो पर्याप्त नभएको र आगामी दिनमा रूकुमको विकास उनले उच्च प्राथमिकतामा रहने समेत बताएका छन् ।

 

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, कात्तिक ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्