१ सय ३२ दिनदेखि न्यायका लागि लड्दै एक परिवार, जो दशैँमा पनि धर्नामा छ
दशैँमा हरेकको घरमा सबै परिवार बसेर सम्भव भएसम्म मिठो मसिनो खाने यो समयमा पनि धनुषाको नगराईन नगरपालिका–८ का विनोदप्रसाद साहको परिवार एउटा युवा समूहले दिएको खाना थापिरहेको थियो।काठमाडौं, कात्तिक ८ : बुधबार दिउँसो एकबजेतिर माइतीघर मण्डला पुग्दा एकै परिवारका चार जना खाना खान थाल थाप्दै थिए।
दशैँमा हरेकको घरमा सबै परिवार बसेर सम्भव भएसम्म मिठो मसिनो खाने यो समयमा पनि धनुषाको नगराईन नगरपालिका–८ का विनोदप्रसाद साहको परिवार एउटा युवा समूहले दिएको खाना थापिरहेको थियो।
विनोद प्रसाद साह र निर्मलादेवी साह आफ्ना दुई सन्तान प्रम र मनिसालाई साथमा लिएर छोरी आरती साहको न्यायको लागि माइतीघरमा धर्ना बस्न थालेको १ सय ३२ दिन पूरा भयो।
दशैँ सडकमै वित्यो तर तिहार र छठमा भने आफ्नो घर फर्किने वातावरण बन्नेमा साह परिवार आशावादी छ। उनीहरुको एउटै माग छ, आरतीको हत्या प्रकरणमा पुन निष्पक्ष छानविन होस्।
दशैँ पनि सडकमै विताउनुको पीडा समेट्दै आरतीका भाई प्रेम साहले भने, ‘के दशैँ के चाडवाड हामी त न्याय नपाएसम्म घर नफर्किने भनेर हिँडेका हौँ। न्याय नपाएसम्म घर फर्किने छैनौं।’ तर सरकार निर्दयी बनेको उनको गुनासो छ। प्रशासनले दशैँमा पनि अनेक बहानामा बारम्बार दुःख दिएको उनले बताए।
एकातिर आफन्त गुमाउनुको पीडा अर्कोतिर न्यायका लागि रातदिन सडककै बास चाडपर्व आएको गएको पत्तै छै्रन साह परिवारलाई। आरतीकी आमाका आँखा ओभाएका छैनन्। कसैले केही सोध्यो भने केही बोल्दिनन्। आँशु मात्रै झार्छिन्। रोएर पीडा सकिँदो रहेनछ।
गत जेठ ७ गते साँझ करिव साढे ६ बजे विनोदप्रसाद साहको मोबाइलमा फोन आयो। त्यो फोन उनकी छोरी आरती साहका ससुरा मदनमोहन साहको थियो। विनोदप्रसाद घरायसी कामले मोबाइल घरमा छोडेर बाहिर गएकाले पटक–पटक फोन बजेको सुनेर विनोदकी कान्छी छोरी मनिषाले त्यो फोन उठाइन्।
आरतीको स्वास्थ्य अवस्था खराब भएर जनकपुर अस्पताल लगिएको उनले मनिषालाई बताएका थिए। तर अस्पताल पुग्दा उनको मृत्यु भईसकेको थियो। २२ वर्षीया आरतीको २२ महिना अघिमात्र मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीका मोतीबाबु साहसँग विवाह भएको थियो।
विवाहमा मागेको २५ लाख रुपैयाँ दाईजो लिएको साह परिवारले पछि दाईजो कम भएको भन्दै आरतीको हत्या गरेको उनको माइती परिवारको दाबी छ। तर मृतक आरतीका परिवारले उनले आत्महत्या गरेको दाबी गर्दै आएको छ।
मृतकका श्रीमान् मोतीबाबु साह, सासु रेणुदेवी साह, ससुरा मदनमोहन साह र देवर रवि साहले आरतीको हत्या गरेको माइती पक्षको जिकिर छ। दिदीको हत्याराहरु खुलमखुल्ला हिँडिरहेको र प्रहरी प्रशासनले समेत आफूहरुलाई असहयोग गरेको मनिषाको गुनासो छ।
‘सरकारले न्यायको प्रक्रिया मात्रै सुरु गरिदिएपनि तिहार अघि नै घर फर्किन पाइन्थ्यो’ मनिषाले भनिन्। आफूहरु गरीब भएकैले न्यायका लागि कसैले सहयोग नगरेको साह परिवारको गुनासो छ। राजनीतिक दलका नेतादेखि अधिकारकर्मीसम्म आएर न्यायका लागि पहल गर्ने आश्वासन दिएपनि अहिलेसम्म ठोस प्रगति नहुँदा उनीहरु निरास छन्।
चाँडै सरकारले आफूहरुको पीडा बुझ्ने र न्याय पाउने आशा भने उनीहरुले मारेका छैनन्।
आरतीको आत्महत्या नभई हत्या भएको ठहर गर्दै उनीहरुले हत्यारालाई कडा भन्दा कडा कारबाही र आफूमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन्।











