हृदयाघात भएपछि चीनमा अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
चीनको बेइजिङबाट छेन्दु हुँदै उनी आज बिहान ११ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।
काठमाडौं, कात्तिक ८ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वदेश फर्किएका छन्। चीनमा हृदयाघात भएपछि अस्पताल भर्ना भएका मन्त्री श्रेष्ठ पाँच दिने उपचार पश्चात डिस्चार्ज भएर घर फर्किएका हुन्।
चीनको बेइजिङबाट छेन्दु हुँदै उनी आज बिहान ११ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। त्यसअघि उनी कात्तिक ३ गते स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएर अस्पताल भर्ना भएपछि उनी ढिला गरी स्वदेश फर्किएका हुन्।
बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो। लगत्तै उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो।
एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई स्टेन्ट राखेर खुलाइएको थियो।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न अस्पतालका प्रोफेसर झाङ्ग सुयाङ्ग लगायत अस्पताल परिवार, बेइजिङस्थित नेपाली राजदूतावास परिवार तथा स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।











