भारतमा उपचाररत मनाङ एयरका क्याप्टेन सेढाईंको मृत्यु
भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत क्याप्टेन सेढाईंको मृत्यु भएको मनाङ एयर प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको हो।
काठमाडौं, कात्तिक ८ : हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ।
भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत क्याप्टेन सेढाईंको मृत्यु भएको मनाङ एयर प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको हो।
विज्ञप्ति जारी गर्दै प्रालिले भनेको छ, ‘चिकित्सकहरुको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा उहाँको दुःखद निधन भएको व्यहोरा जानकारी गराउँदछौं । उपचारका क्रममा सहयोग पुयाउनु हुने अस्पताल, चिकित्साकर्मी, परिवारजन तथा शुभेच्छुकमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं।’
मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर गत असोज २७ गते बिहान सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुर्घटना भएको थियो।
हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेपछि उनी जलेर गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि असोज २८ गते भारत लगिएको थियो।
तीन महिनाको अवधिमा दुई पटक मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङको अपरेटर सर्टिफिकेट निलम्बन गरेको थियो।











