राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण
आफूले टीका ग्रहण गरेपछि उनले परिवारका सदस्यलाई टीका लगाइदिएका छन्।
काठमाडौँ, कात्तिक ७ : राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ। साथै गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा, प्रसाद ग्रहण गरे।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन्। आफूले टीका ग्रहण गरेपछि उनले परिवारका सदस्यलाई टीका लगाइदिएका छन्।
विजया दशमीका अवसरमा आज राष्ट्रपति पौडेलले अति विशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुखहरु, न्यायाधीशहरु, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरुलाई २ बजेदेखि ३ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने र सर्वसाधरणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद गर्ने कार्यक्रम तय गरिएको हो ।
अति विशिष्ट, विशिष्ट तथा सर्वसाधारणका लागि टीका प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोषकमा १ नम्बर प्रवेशद्वारबाट आउन भनिएको छ।











