Kathmandu Press

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : अध्यक्ष नेपाल

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, कात्तिक ७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन्।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले विभिन्न समुदायबीच एकता, सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्घि गर्न पर्वको संरक्षण गर्नुपर्ने बताए। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। 

अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्न समाजवादी अर्थव्यवस्था कार्यान्वयन तथा जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिनुपर्नेमा जोड दिए। 

सुशासन, समृद्धि र सामाजिक न्यायको आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सक्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता र समन्वयको खाँचो औँल्याए।

प्रकाशित मिति: ०९:२१ बजे, मंगलबार, कात्तिक ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्