अध्यक्षमा बद्री केसी निर्वाचित भएलगत्तै एनआरएनएमा उत्पन्न विवाद बढ्दै
शुक्रबार अध्यक्षमा केसी निर्वाचित भएको परिणाम घोषणा भएपछि उनका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्मालगायतले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गरेका छन्।
काठमाडाैं, कात्तिक ३ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा बद्री केसी निर्वाचित भएलगत्तै उत्पन्न विवाद बढ्दै गएको छ।
शुक्रबार अध्यक्षमा केसी निर्वाचित भएको परिणाम घोषणा भएपछि उनका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्मालगायतले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गरेका छन्। निर्वाचन प्रक्रियामा धाँधली भएकाले अध्यक्ष पदको परिणाम स्वीकार गर्न नसकिने उनीहरुको भनाइ छ। प्रविधिको प्रयोग गरी एनआरएनएको इतिहासमै पहिलो पटक निर्वाचन गराइएको थियो तर पूर्वनियोजित रुपमा सेटिङ गरी नतिजा घोषणा गरिएकाले मान्य नहुने असन्तुष्ट पक्षले जनाएका छन्।
यसैबीच एनआरएनएको विवादको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई निजी कम्पनीको सुरक्षाकर्मी र एनआरएनएका प्रतिनिधिहरुले दूव्र्यव्यवहार गरेका छन्। उनीहरुले भिडियो खिच्न लाग्दा सञ्चारकर्मीको क्यामरा खोस्ने प्रयास गर्दै भिडियो मेट्न धम्की समेत दिएका थिए।
अध्यक्षमा निर्वाचित केसीले एक हजार तीन सय ७८ मत प्राप्त गर्नुभएको छ। साथै अध्यक्षका प्रत्यासी आर के शर्माले एक हजार दुई सय ८१ र महेश श्रेष्ठले एक हजार दुई सय २५ मत प्राप्त गर्नुभएको घोषणा निर्वाचन समितिले गरेको थियो।
संघले उपाध्यक्षमा राज रेग्मी, विनोद श्रेष्ठ, हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने निर्वाचित भएको घोषणा गरेको छ भने महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सोम सापकोटा र प्रवीण गुरुङ निर्वाचित भएको जनाएको छ।
उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेलको मत शून्य देखाइएको भन्दै नतिजा अस्वीकार गरिएको हो। अष्ट्रेलियामा रहेको कम्पनी भेरोको अनलाइन प्रणाली ह्याक गरी धाँधली गरेको अध्यक्षका दुई प्रत्यासीको आरोप छ।











