वन्यजन्तु र मानवबीच द्वन्द्व अबको ठुलो चुनौती : मन्त्री महतो
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
काठमाडौं, कात्तिक ३ : वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व आगामी दिनको ठूलो चुनौतीका रुपमा रहने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। वन्यजन्तु र मानवबीच द्वन्द्वको चुनौतीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले कसरी समाधान गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी रहेको महतोले बताए।
उनले भने, ‘आउने दिनमा मानव र बन्यजन्तुबीच द्वन्द्व ठूलो चुनौती हो। यसलाई कम गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषले सकेसम्म धेरै ठाउँमा त सहयोग गरेको छ। मन्त्रालयसँग सहकार्य गरेको छ तर पूरै रुपमा संरक्षण गर्न सकिएको छैन। कसरी गर्ने भन्ने कुरामा पनि यो संस्थाको ध्यान जाओस्।’
प्रकृति संरक्षण क्षेत्रमा मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समन्वय गरेर संरक्षित र सुरक्षित गर्न आवश्यक रहेको उनले बताए।











