बिपीमा चिकित्सकको सामूहिक राजीनामापछि उपचार सेवा प्रभावित
लामो समयदेखि पदोन्नति नभएको भन्दै पदोन्नति गर्न गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए। उनीहरुको माग प्रतिष्ठानका पदाधिकारीले पूरा नगरेपछि काठमाडौं गएर समेत दबाबमूलक आन्दोलन गरेका थिए।
विराटनगर, कात्तिक ३ : चिकित्सकहरुले सामूहिक राजीनामा दिएपछि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रभावित बनेको छ।
लामो समयदेखि पदोन्नति नभएको भन्दै पदोन्नति गर्न गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए। उनीहरुको माग प्रतिष्ठानका पदाधिकारीले पूरा नगरेपछि काठमाडौं गएर समेत दबाबमूलक आन्दोलन गरेका थिए।
मागमा सुनुवाइ नभएपछि उनीहरुले सामूहिक राजीनामा दिएका थिए। ठूलो संख्यामा चिकित्सकहरुको अनुपस्थिति भएपछि उपचारका लागि आउने बिरामी प्रभावित बनेका हुन्। बिरामीको उपचारमात्र होइन चिकित्सा शिक्षा अध्ययनरत हजारभन्दा बढी विद्यार्थीको पठनपाठन पनि प्रभावित भएको छ।
सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै १ सय ७७ जना सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर, एडिस्नल प्रोफेसर तहका चिकित्सकले गत बुधबार प्रतिष्ठानका सहकुलपतिसमेत रहेका सिनेट अध्यक्ष एवं स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सामूहिक राजीनामा दिएका थिए।
उनीहरुले राजीनामा दिएपछि प्रतिष्ठानमा थोरै संख्यामा प्रोफेसर र जुनियर रेजिडेन्टहरूले बिरामीको उपचार गरिरहेका छन्। बिरामीको चापका हिसाबले चिकित्सकको संख्या पर्याप्त छैन।
आन्दोलनरतमा रहेकामध्ये मेडिसिन विभागका प्रमुख प्रा.डा. रविन मास्केका अनुसार प्रतिष्ठानका पदाधिकारीले समाधानको प्रयास नगर्दा उपचार सेवा प्रभावित भएको हो। प्रतिष्ठानका रजिस्ट्रार सूर्य संग्रौलाले पदोन्नति प्रक्रियाका लागि स्वास्थ्य मन्त्रालयले नयाँ नियमावलीको मस्यौदा तयार गरिसकेको बताउँदै चिकित्सकहरुलाई काममा फर्कन आह्वान गरिएको बताए।
धरानका राजनीतिक दलहरूले आन्दोलनरत् पक्ष र प्रतिष्ठान व्यवस्थापनलाई समस्याको समाधान गरी स्वास्थ्य सेवा नियमित गर्न आग्रह गरेका छन्। दलहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई उपयुक्त समाधानमार्फत स्वास्थ्य सेवा तत्काल सञ्चालन गर्न भनेका हुन्।











