केन्द्रीय नेतृत्वको गलत कार्यशैलीका कारण कोशीमा विद्रोह : मन्त्री लिम्बू
मोरङको बेलबारीमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको अकर्मण्यताले गर्दा कोशीमा सांसदहरुले विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका हुन्।
विराटनगर, कात्तिक ३ : कांग्रेस नेता एवं युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले पार्टीको केन्द्रीय नेतृत्वको गलत कार्यशैलीका कारण कोशी प्रदेशमा सांसदहरुले विद्रोह गर्नुपर्ने अवस्था बनेको प्रतिक्रिया दिएका छन्।
मोरङको बेलबारीमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको अकर्मण्यताले गर्दा कोशीमा सांसदहरुले विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका हुन्।
केन्द्रीय नेतृत्वको सधैँ आफ्नो निर्णय थोपेरेर कार्यकर्तालाई दास बनाउन खोज्ने प्रवृत्तिका कारण कोशीमा ‘दुर्घटना’ भएको बताए। संस्थागत निर्णय गरेर अघि नबढ्ने हो भने कोशीमा देखिएको विद्रोह अन्यत्र पनि फैलन सक्ने उल्लेख गरे।
कोशी प्रदेशको मुख्यमन्त्रीका लागि केन्द्रीय नेतृत्वले माओवादी केन्द्रका इन्द्र आङ्बोको नाममा सहमति जनाएको थियो।
उक्त सहमतिप्रति असन्तुष्ट कांग्रेसको शेखर कोइराला समूहका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। कोइराला पक्षका ८ जना र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की कोशीको मुख्यमन्त्री बनेका छन्।
नेपाली कांग्रेस मोरङका सभापति समेत रहेका मन्त्री लिम्बूले केन्द्रले तल्लो तहसम्मको भावना नबुझी एकलौटी निर्णय गर्ने चलन नत्यागेसम्म समस्या दोहोरिइरहने बताए।
मंसिर १३ देखि १८ गतेसम्म हुने पार्टीको महासमिति बैठकले विधान संशोधन गर्ने उल्लेख गर्दै उनले कांग्रेसलाई पुरानै संरचनामा फर्काउनुपर्नेमा जोड दिए।











