एनआरएनए अध्यक्षमा डा. बद्री केसी निर्वाचित
डा.केसीले एक हजार ३७८ मत प्राप्त गर्दा राजेन्द्रकुमार शर्मा र महेश श्रेष्ठले क्रमशः एक हजार २८१ र एक हजार २२५ मत प्राप्त गरे।
काठमाडाैं,कात्तिक ३ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन्। उनले एक हजार ३७८ मत प्राप्त गरे।
अध्यक्षका प्रतिस्पर्धीद्वय राजेन्द्रकुमार शर्मा र महेश श्रेष्ठले क्रमशः एक हजार २८१ र एक हजार २२५ मत प्राप्त गरे। काठमाडौंको सोल्टी होटेलमा भएको ११औं विश्व सम्मेलनमा अध्यक्षकी प्रत्यासी रहेकी रविना थापाले श्रेष्ठलाई समर्थन गर्ने भन्दै उम्मेदवारी निष्क्रिय बनाएकी थिइन्।
यस्तै ६ उपाध्यक्षमा हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ निर्वाचित भएका छन्। उनीहरुले क्रमश दुई हजार २६५, दुई हजार १८०, एक हजार ५५२, एक हजार ३५७, एक हजार ९०० र एक हजार ५६० मत प्राप्त गरे। ्
यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधानले एक हजार ९४७ मत प्राप्त गर्दै विजयी भइन् । उनका निकट्तम प्रतिस्पर्धी वेगम सैयदले एक हजार ९१४ मत प्राप्त गरिन्। युवा उपाध्यक्षमा रोशन थापाले दुई हजार ४६८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकट्तम प्रतिस्पर्धी अब्दुल बासिदले एक हजार ३२२ मतमै चित्त बुझाए।
संघको महासचिवमा भने गौरीराज जोशी दुई हजार ३७ मतसहित विजयी भए । उनका निकट्तम प्रतिस्पर्धी बुद्धि सुवेदीले भने एक हजार ८१८ मत मात्र प्राप्त गरे । उपमहासचिवमा प्रवीण गुरुङ दुई हजार १५० र सोम सापकोटा एक हजार ७९० मत प्राप्त गर्दै विजयी भए।
सचिवमा विजयी मनोजकुमार श्रेष्ठले दुई हजार २४ मत, नवराज रोस्याराले एक हजार ८५३ मत, ज्ञानेन्द्र रेग्मीले एक हजार ७८२ मत, भीम केसी (कमल) ले एक हजार ६७३ मत, स्वतन्त्र प्रताप शाहले एक हजार ६६६ मत र पारमणि पोखरेलले एक हजार ६५१ मत प्राप्त गरे।
एनआरएनएको महिला सचिवमा टीका गुरुङ (राधिका) दुई हजार ३२० मत ल्याउँदै विजयी भइन्। उनका निकटम प्रतिद्वन्द्वी विमला सापकोटाले एक हजार ५३९ मत ल्याइन्।
यस्तै कोषाध्यक्षमा सुदन थापा एक हजार ९१७ मतसहित विजयी भए भने महिला कोषाध्यक्षमा भने अमृता थापाले दुई हजार २८७ मतसहित विजयी भइन्। सहकोषाध्यक्षमा तिलकप्रसाद गैरेले दुई हजार २३२ मत, अभिमन्यू बस्नेतले दुई हजार ८१ र कृष्णप्रसाद तिमिल्सिनाले दुई हजार १५ मत प्राप्त गर्दै विजयी भए ।
युवा संयोजकमा सुपेन्द्र घिसिङले दुई हजार ३६ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकट्तम प्रतिस्पर्धी रविन अधिकारीले एक हजार ७६५ मतमै चित्त बुझाए । यस्तै अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले बाजी मारिन्। उनी दुई हजार ३३६ मत ल्याउँदै विजयी भइन् । प्रधानकी निकट्तम प्रतिस्पर्धी देविका खत्री गुरुङले जम्मा एक हजार ५२४ मत ल्याइन्।
एनआरएनएको निर्वाचन समितिले मत परिणाम घोषणा गरे पनि अध्यक्षका प्रत्यासीद्वय श्रेष्ठ र शर्माले मतगणनामा धाँधली भएको भन्दै परिणामप्रति विमति जनाएका छन्। उनीहरुले यसको कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएका छन् ।











