Kathmandu Press

तपाईंहरू एनआरएको दिमाग सिपाहीभन्दा माथि उठेको रहेनछ : झाँक्री

तपाईंहरू एनआरएको दिमाग सिपाहीभन्दा माथि उठेको रहेनछ : झाँक्री

काठमाडाैं, कात्तिक २ : नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको भाषणले एनआरएन महाधिवेशनमा तरंग ल्याएको छ। पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनअन्तर्गत ‘नागरिकता र मताधिकार’ विषयको ‘प्यानल डिस्कसन’मा आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन्।

केही एनआरएले नागरिकता विधेयकको विरोध गर्दै प्लेनरी सेसनमा सहभागी राजनीतिक नेतृत्वको आलोचना गरेपछि उनी आक्रोशित बनेकी हुन्। प्यानल डिस्कसनमा सहभागीहरूमध्ये केहीले वंशजको नागरिकता दिनुपर्ने माग गरेका छन्। यतिखेर उनको अभिव्यक्तिले चौतर्फी चर्चा पाइरहेको छ। एनआरएनकै केहीले झाँक्रीको भनाइ तीतो सत्य भन्दै बचाउ गरिरहेका छन् भने केहीले एनआरएनलाई अपमानित गरेको गुनासो गरिरहेका छन्। 

बेलायतबाट आएका एक प्रतिनिधिले एनआरएनलाई वितरण गर्न लागिएको नागरिकतामा धोकाधडी बताउँदै राजनीतिक अधिकारबिनाको नागरिकता ‘कागजको खोस्टो’ सरह भएको टिप्पणी गरेका थिए। जवाफमा झाँक्रीले खुसीले नागरिकता त्यागेर गएकाहरूलाई ‘मतदानको अधिकार’ नहुने बताएकी थिइन्। ‘म कान खोलेर सुन्न भन्छु– तपाईंहरूलाई दिइएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हो। भोटिङ राइटको पोलिटिकल अधिकार होइन र यो हुन सक्दैन। तपाईंहरू खुशीले नागरिकता त्यागेर गएकाहरूलाई फर्किन इन्भाइट गरेको हो। यहाँ हाम्रो पनि स्वार्थ छ, तपाईंहरूको पनि स्वार्थ छ,’ उनले भनिन्।

विदेशमा बसेर नेपाली राजनीतिबारे ‘कमेन्ट’ गर्ने तरिका ठिक नभएको पनि उनले बताइन्। ‘यहाँ भएको कुराप्रति कृतज्ञता छैन, जहिले पनि धमिलो पानीमा माछा मार्ने, नेपाली राजनीतिक प्रणालीका बारेमा विदेशमा बसेर फेसबुकमा लेख्ने, विषवमन गर्ने, नकारात्मक धारणा दिने, यही हो तपाईंहरूको काम? तपाईं विदेशमा बस्नुहुन्छ भने त्यो देशको स्टान्डर्ड भाषामा त्यो देशको कर प्रणाली, कानुन र आप्रवासनको बारेमा स्टाटस लेख्नुस्,’ उनले भनिन्, ‘बिहान जुरुक्क उठेर आँखाको चेप्रा नपुछ्दै नेपाली राजनीतिका बारेमा किन कमेन्ट गर्नुपर्‍यो? यहीँ चिन्ता गर्ने मान्छे, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचिएका र सन्जोगले बाँचेका हामी ज्युँदै छौं। यो देशको चिन्ता हामीले गर्छौं। तपाईंहरूले यस्ता कुरा गर्नु सुहाउँदैन।’

बेलायतबाट आएका एक प्रतिनिधिले एनआरएनलाई वितरण गर्न लागिएको नागरिकतामा धोकाधडी भएको भन्दै आचार्यलाई ‘फाँसी हुनसक्ने’ चेतावनी दिएकाले झाँक्री क्रोधित बनेकी थिइन्। ‘डिग्रीको धाक दिनु पनि पर्दैन। नेपालमा नेपाली भाषा चाहिन्छ। नेपालको डिग्री हामी धेरै मानिसले लिएका छौं। त्यसकारण चित्रलेखा दिदीहरू पनि अयोग्य होइन। त्यसैले यस्तो प्लेनरीमा आएर राम्रोसँग सकिएको कुरालाई यो कागजको खोस्टो, नथिङ एल्स, यो कुल आचार्यहरूलाई फाँसी हुन्छ, यही हो सभ्यता? के सिक्नुभयो?’

उनले मानवअधिकार विश्वव्यापी हुने भन्दै गैरआवासीय नेपालीलाई सबै अधिकार दिइए पनि नागरिकताको अधिकार नदिइएको बताइन्। ‘मानवअधिकार विश्वव्यापी हुन्छ। मानवअधिकार त्यो देशको टेरिटोरीमा संविधानतः प्रदत्त गरिएको हुन्छ। तपाईंहरूलाई नागरिकताको अधिकार दिइएको होइन। तपाईंहरूलाई गैरआवासीय नेपालीको अधिकार दिइएको हो। यति कुरा थाहा पाइराख्नुस्। यहाँ आएर अहिले ठुलो कुरा नगर्नू। तपाईंहरूले आफ्नो खुसीले नेपाली नागरिकता त्यागेको हो । अनि अहिले खुसीले त्यागेको कुरा, तपाईंहरूले केही आर्थिक समृद्धिका काम, केही सीपका काम गर्नुहोला भनेर गरेको हो। अनि यो हामीलाई थाहा छैन र?’

विश्वका मुलुक घुमेर, ग्लोबल सिटिजन भएर केही पनि सिक्न नसकेको भन्दै उनले एनअनरएप्रति टिप्पणी पनि गरिन्। ‘बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसिएन, सिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले तपाईंहरूले अब अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ,’ उनले भनिन्, ‘त्यसकारण यो आतंककारी बनाउने बाटोतर्फ नजानुस्। तपाईंहरूले बेलायतमा किन १० वर्षबाट २० वर्ष भयो आइएलआर बनाउन? त्यहाँ गएर भन्न सक्नुहुन्छ? बेलायतमा तपाईंको स्टाटस जे हो, आज तपाईंको नेपालमा नेपाली नागरिकता त्यागेपछि त्यही स्टाटस हो मित्र।’

नागरिकता र त्यसको अधिकार भनेको ग्लोबल अधिकार नभएको उनले स्पष्ट पारिन्। ‘हामीले प्राक्टिकल्ली अलि कम, काम अलि धेरै गर्‍यौं। मैले अदालतमा कम प्राक्टिस गरें। तर कानुन हामीले पनि पढ्यौं। त्यसकारण हरेक देशको सिटिजनसिपसम्बन्धी कानुन त्यो देशको विशिष्टतामा आधारित हुन्छ,’ उनले भनिन्, ‘नागरिकता र त्यसको अधिकार भनेको ग्लोबल अधिकार होइन। तपाईंले संयुक्त राष्ट्र संघको बडापत्र हेर्नुभयो भने पनि मानवअधिकार विश्वव्यापी हुन्छ। साथी हो, कान खोलेर सुन्नुस्। त्यहाँ तपाईंहरूलाई रेष्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर होला।’

उनले एनआरएलाई सिपाहीको भन्दा माथि दिमाग नउठेको भन्न पनि भ्याइन्। ‘नेपालको कानुन कस्तो हुने? तपाईंको अधिकार होइन, हाम्रो अधिकार हो। नागरिकता त त्यागिसक्नुभएको छ नि तपाईंहरूले। तपाईं ब्रिटिस पासपोर्ट बोकेर आउनेले यो भन्न पाउनुहुन्न। नेपाली पासपोर्ट बोक्नुहुन्छ भने हामीसँग चुनाव लड्नुहोस्,’ उनले भनिन्, ‘नेपाली नागरिकलाई संविधानप्रदत्त सबै अधिकार छ। संविधानले सबै अधिकारलाई संरक्षण गरेको छ। नेपालीबाहेक गैरनेपालीलाई संविधानले संरक्षण गर्ने कुरा मानवअधिकार र आर्थिक अधिकारको हिसाबले मात्रै गर्छ। त्यसकारण तपाईंहरूको एउटा सोल्जर (सिपाही) को माथि दिमाग नउठेको देखेर म छक्क परें। त्यसकारण यो विषयमा बहस गर्नुचाहिं बेकारको कुरा छ।’

नागरिकता विधेयक पास भइसकेपछि स्वागत गर्नुको बदला एनआएबाट जे भएको छ, त्यो आपत्तिजनक रहेको उनले बताइन्। तपाईंहरूले कार्यक्रममा आफ्नो तरक्की देखाउनुभएको हो। यो पनि थाहा छ। यस्ता हल्ला, हजार मान्छे डुलाएर आएकै मान्छै हौं हामी। दुई जनाले नारा लगाएर के हुन्छ भन्या? के हुन्छ यहाँ? त्यसकारण मैले यति कुरा भनें। र, अहिले यो नागरिकता विधेयक पास भइसकेपछि यसलाई स्वागत गर्नुको बदला जे गर्नुभएको छ, यो कुरा तपाईंहरूको आपत्तिजनक छ।

प्रकाशित मिति: १६:०३ बजे, बिहीबार, कात्तिक २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्