समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउँछ : नेपाल
‘संविधानलाई असफल बनाउन खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने र पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने तत्वप्रति सबै होसियार हुनुपर्छ,’ अधयक्ष नेपालले भने।
भक्तपुर, कात्तिक १ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताएका छन्।
एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान असफल बनाउने प्रयास भइरहेको बताए।
पार्टीले समाजवादी जागरण रोजगारी, सुशासन, समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढाएको बताउँदै नेता नेपालले भ्रष्टाचार र व्यक्तिवादबाट मुक्त भइयो भने मात्र त्यसको सही कार्यान्वयन हुने बताए।
‘संविधानलाई असफल बनाउन खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने र पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने तत्वप्रति सबै होसियार हुनुपर्छ,’ अधयक्ष नेपालले भने।
सत्ता गठबन्धन पाँच वर्षका लागि बनेकाले गठबन्धन भत्काउँछौँ भन्ने सपना कसैले नदेखे हुन्छ भन्दै उनले देशलाई प्रतिगमनमा लैजान खोज्ने तत्वले अहिले पनि गठबन्धनन भत्काउन खोजिरहेको उल्लेख गरे।
पछिल्ला समय नयाँ आएका दलले पुराना दल र तिनका नेता कुनै काम लाग्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए।











