८ भाइले युद्ध जितेरै आएपछि गलामात्र लगाएनौँ गाला जोड्यौँ : उद्धव थापा
थापाले भित्र जस्तोसुकै झगडा, कुण्ठा भएपनि परेको बेलामा गाला जोडेको बताए। अब ८ भाइसँग जोडेको गाला कहिले नछुट्ने बताए।
मोरङ, कात्तिक १ : नेपाली कांग्रेस कोशी प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले केदार कार्की र उनलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुसँग गला मिलाएको बताएका छन्।
बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै नेता थापाले आफ्ना साथीले युद्ध जितेर आएकाले गला मिलाएको बताएका हुन्।
‘नेपाली कांग्रेसबाट ८ भाइ माननीयहरु, दलभित्र झगडा गर्नुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो । अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो,’ उनले भने, ‘युद्ध पनि जितेर घरमा आउनुभयो, युद्ध जितेर फुलमाला लगाएर आएपछि हामीले गले लगायौं, स्वागत ग¥यौं। युद्ध नै जितेर आइसकेपछि हामीले सबै कुरा बिर्सियौं।’
उनले आफुहरुले गाला जोड्न एमालेबाट सिकेको बताए । थापाले भित्र जस्तोसुकै झगडा, कुण्ठा भएपनि परेको बेलामा गाला जोडेको बताए। अब ८ भाइसँग जोडेको गाला कहिले नछुट्ने बताए।











