Kathmandu Press

मुख्यमन्त्री कार्कीलाई एमालेले विश्वासको मत दिने, राप्रपाले नदिने

एमालेको कोशी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए।
मुख्यमन्त्री कार्कीलाई एमालेले विश्वासको मत दिने, राप्रपाले नदिने

मोरङ, कात्तिक १ : आफ्नो समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका कांग्रेसको शेखर कोइराला समूहका नेता केदार कार्कीलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ। राप्रपा भने विपक्षमा बस्ने भएको छ।

जारी कोशी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै छन्। एमालेको कोशी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए।

प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पार्टीको धारणा प्रस्तुत गर्ने र कार्कीलाई विश्वासको मत दिइने उनले बताए।

कांग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा गत शनिवार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए।  यस्तै, नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि कार्कीलाई विश्वासको मत दिने जनाइसकेका छन्।

राप्रपाले भने कार्कीलाई विश्वासको मत नदिने भएको छ । उसले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएको छ। राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाका अनुसार प्रदेश सभामा विपक्षी पनि चाहिने भएकाले आफूहरु विपक्षमा बस्ने बताए।

 

प्रकाशित मिति: १३:१८ बजे, बुधबार, कात्तिक १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्