Kathmandu Press

मुस्ताङ पुगेका प्रधानमन्त्रीले भने– मुस्ताङको विकास निर्माणलाई गति दिने कुरामा मेरो ध्यान केन्द्रीत छ

अन्तर्राष्ट्रिय समस्याको रुपमा रहेको जलवायु परिवर्तनले नेपालको हिमाली जनजिवन, इकोसिस्टम र भौगोलिकतामा पारेको असर निकै गम्भीर भएको र सो बारे आफ्नो संयुक्त राष्ट्रसंघ देखि रोमको भ्रमणसम्ममा नेपालको समस्या राखेर विश्वको ध्यानाकर्षण गराएको बताए।
मुस्ताङ पुगेका प्रधानमन्त्रीले भने– मुस्ताङको विकास निर्माणलाई गति दिने कुरामा मेरो ध्यान केन्द्रीत छ

मुस्ताङ, कात्तिक १ : प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङसहित हिमाली जिल्लामा जलवायु परिवर्तनले पारेको असर न्यूनिकरण गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले मुस्ताङबासीको पीडा कम गर्ने र त्यहाँको विकासलाई गतिदिने कुरामा आफ्नो ध्यान गएको स्थानीयसँग बताउँदै ५० करोड सहयोग उपलब्ध गराउने घोषणा पनि गरे।

बुधबार राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु परिवर्तन र त्यसले हिमाली क्षेत्रमा पारेको असरबारे गरिएको अन्तरक्रियामा उनले सबैले मिलेर जलवायु परवर्तनले पारेको असरको सामना गर्नुपर्ने भन्दै त्यसमा सरकार गम्भीर भएर लागेको बताए। त्यसका लागि राष्ट्रिय अन्र्तराष्ट्रिय सहयोग जुटाउन आफू प्रतिबद्ध रहेको भन्दै उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटर्रेस नेपाल आउँदा मुस्ताङको समस्या राख्ने बताए।

विगतमा गएको हिउँ पहिरो र मुस्ताङको कागवेनी क्षेत्रमा गएको बाढी जलवायु परिवर्तनको उपज भएको उल्लेख गरे। ‘विगतमा हिमपातको घटना घट्यो र ठूलो मानवीय क्षति पनि भयो। जलवायु परिवर्तनसँग यसको सम्बन्धलाई हामीले कसरी सम्बोधन गर्न सकिन्छ,’ उनले भने, ‘यहाँको कृषि उत्पादन, पर्यटन र तमाम व्यवसायसँग जलवायु परिवर्तनबाट पुगेको क्षतिलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा सरकार गम्भीर ढंगले लागेको छ।’

मुस्ताङ जलवायु परिवर्तनको चपेटामा परेको र त्यसको न्यूनिकरणमा सरकार गम्भीर भएको उनको भनार्ई छ। प्रधानमन्त्रीले जलवायुसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय संस्थाले नेपाललाई झन्डै ५० करोड सहयोग गर्न लागेको र सो रकम सबै मुस्ताङलाई दिने घोषणा उनले गरे।

‘अहिले जलवायुसँग सम्बन्धित एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झन्डै ५० करोड नेपाललाई प्राप्त हुँदैछ। त्यो ५० करोड मुस्ताङलाई नै हामी दिँदैछौं,’ प्रधानमन्त्री दाहालले भने, ‘यसबाट तपाइँहरुले बुझ्न सक्नु हुन्छ सरकारले मुस्ताङ जिल्ला र यसको ऐतिहासिकता, भौगोलिक विशिष्टता, यहाँको संस्कृति, परम्परा, उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ।’

अन्तर्राष्ट्रिय समस्याको रुपमा रहेको जलवायु परिवर्तनले नेपालको हिमाली जनजिवन, इकोसिस्टम र भौगोलिकतामा पारेको असर निकै गम्भीर भएको र सो बारे आफ्नो संयुक्त राष्ट्रसंघ देखि रोमको भ्रमणसम्ममा नेपालको समस्या राखेर विश्वको ध्यानाकर्षण गराएको बताए।

जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा भएको बताउँदै उनले कोप २८ मा सम्मेलनमा पनि यस विषयमा नेपालले गम्भीरपूर्वक विषय राख्ने बताए। उनले विश्व समुदायको ध्यानाकर्षित गर्ने र नेपालमा यो जोखिम न्यूनिकरणको निम्ति जलवायु कोषमा बढी भन्दा बढी अन्तर्राष्ट्रिय सहयोग जुटाउन अपिल गर्ने तयारी गरिरहेको उल्लेख गरे।

मुस्ताङको आफ्नै विशिष्ट किसिमको विशेषता रहेको उल्लेख गर्दै उनले त्यहाँको सामाजिक, धार्मिक, भौगोलिक, राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय रुपमा यसको महत्व रहेको बताए। साथै उनले भविष्यमा गर्नुपर्ने पूर्वाधार विकासको निम्ति महासचिव रमष्ट्र गुटर्रेससहित अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए।

मुस्ताङको विकासमा आफ्नो ध्यान गएको भन्दै उनले त्यसका लागि सबै प्रकारको सहयोग गर्न प्रतिवद्ध रहेको धारणा राखेका छन्।

प्रकाशित मिति: १२:४४ बजे, बुधबार, कात्तिक १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्