सरकारले विदेशमा रहेका नेपालीको सुरक्षा र अवस्थाबारे चासो राख्नपर्छ : अध्यक्ष नेपाल
अध्यक्ष नेपालले देशको मुख्य समस्या नै भ्रष्टाचार भएको उल्लेख गर्दै सुशासन, रोजगारी र समृद्धिलाई अघि बढाउन आफ्नो पार्टीले यी तीनलाई नारा नै बनाएर अघि बढेको बताए।-1697605125.jpg)
काठमाडौं, कात्तिक १ : नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधव कुमार नेपालले इजरायलमा रहेका नेपालीको सुरक्षा र अवस्थाबारे सरकारले चासो राख्नुपर्ने बताएका छन्। उनले विदेश र स्वदेशमा रहेका नेपालीको समस्यालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गर्नुपर्ने धारणा राखे।
बुधबार भक्तपुरमा आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा उनले इजरायलसँगै अन्य देशमा रहेका नेपाली कामदारको सुरक्षा र उनीहरुको अवस्थाबारे सरकारले चासो दिनुपर्ने धारणा राखे। उनले विदेशी नेपालीको मात्र नभई स्वदेशी नेपालीको समस्या समाधानमा समेत सरकारले पहल गर्नुपर्ने बताएका छन्।
इजरायल–प्यालेस्टीन युद्धमा परि १० नेपालीको मृत्युले देश स्तब्ध बनेको, सरकारले मृतकका परिवारलाई राहतको व्यवस्था गरी सान्वना दिएको र त्यहाँ फसेका १५४ जना नेपालीको उद्दार गरी ल्याएको चर्चा गरे।
‘अरु पनि धेरै नेपालीहरु इजरायलमा काम गरिरहेका छन्। उनीहरुको सुरक्षाको बारेमा र त्यहाँ रहेका नेपालीको बारेमा मात्रै होइन अन्य देशमा रहेका नेपालीहरुको सुरक्षा र अवस्थाको बारेमा सरकारले चासो राख्नुपर्छ,’ उनले भने, ‘विदेशमा गएका नेपाली कामदारको मात्र होइन स्वदेशमा रहेका नेपालीहरु जो गरिबी,अभाव र बेरोजगारीले पीडित छन्, जो अन्याय, अत्याचार र थिचोमिचोले पीडित छन् ती सबैको समस्यालाई राज्यले केन्द्रविन्दुमा राख्नुपर्छ।’
अध्यक्ष नेपालले विदेशमा श्रमका लागि गएका नेपाली र नेपालमा रहेका बेरोजगारी नेपालीका समस्यालाई राज्यले सम्बोधन गर्न उत्पादन बढाउनुको विकल्पनभएको बताए। उत्पादनसँग रोजगारीलाई जोड्न कृषिलाई उच्च प्राथमिकता आफूहरुले दिएको बताए।
‘हामीले रोजगारीको विषय र त्यसलाई उत्पादनसँग जोड्ने विषय र उत्पादनसँग जोड्दा कृषिलाई उच्चतम प्राथमिकता दिनुपर्छ भन्ने विषयलाई अगाडि सारेका छांै। कृषिलाई देशको अर्थतन्त्रको बलियो जगको रुपमा लिनुपर्छ,’ उनले भने।
उनले कृषिको जगमा नै नेपालको अर्थतन्त्र माथि उठ्ने बताउँदै पर्यटन र जलविद्युतको विकास गरी अर्थतन्त्रको विकासलाई गति दिन सकिने उल्लेख गरे। उनले कृषि, पर्यटन र जलविद्युत देशको अर्थतन्त्रको बलियो क्षेत्र भएको बताए।
अध्यक्ष नेपालले देशको मुख्य समस्या नै भ्रष्टाचार भएको उल्लेख गर्दै सुशासन, रोजगारी र समृद्धिलाई अघि बढाउन आफ्नो पार्टीले यी तीनलाई नारा नै बनाएर अघि बढेको बताए।











