कानुन मिच्नेहरु फोन कलको भरमा छुट्नु हुन्नः मुख्यमन्त्री कार्की
नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोन कलको आधारमा नछाड्न निर्देशन दिए।
मोरङ, असोज ३० : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन्।
नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोन कलको आधारमा नछाड्न निर्देशन दिए।
प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, ‘प्रहरीले आफ्ना इच्छा र चाहना त्यागेर अरूको सुरक्षाका लागि खटिनु परेको छ । हरेक साना ठूला घटनामा प्रहरी नै खटिनु पर्छ । तर, हामीलाई शान्तिसुरक्षा दिने प्रहरी पहिले सुरक्षित हुनुपर्छ । प्रहरीले शौच गर्न नपाउने, खान नपाउने तर हामीले सुरक्षा भएन भन्ने धारणा परिवर्तन गरिनु पर्छ।’
मुख्यमन्त्री कार्कीले धेरै प्रहरी कार्यालयहरु अहिले पनि संरचना अभावका कारण जीर्ण रहेको दृष्टान्त पेश गर्दै यस्तो अवस्था सुधार गर्न प्रदेश सरकारले सक्दो काम गर्ने प्रतिवद्धता जनाए।
कार्कीले साँझमा मादक पदार्थ सेवन गर्नेलाई छुटाउन आउने टेलिफाने कलको वास्ता नगरी कार्वाही अघि बढाउन निर्देशनसमेत दिए। उनले भने, ‘कसैले आफैं कानूनको उल्लंघन गर्छ भने कारबाही हुनुपर्छ । पहुँचको आधारमा सुरक्षा नदिनुहोस्।’











