हामीले राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना गर्न सकेनौँ : राष्ट्रपति पौडेल
उनले संघीय लोकतान्त्रीक गणतन्त्रका निश्चित मूल्य मान्यता सिद्धान्त र दर्शनलाई आत्मसाथ गर्न नसके चुनौतीहरुको समाना गर्न नसकिने बताए।
काठमाडौं, असोज ३० : राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक पुनसंरचना सँगसँगै राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना भने गर्न नसकिएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलनमा राष्ट्रपति पौडेलले सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु देखा परेको बताए।
‘राजनीतिक परिवर्तन पछि देश आर्थिक विकासको चरणमा प्रवेश गरेको छ। तर सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु पनि देखा परेका छन्,’ पौडेलले भने, ‘यो चुनौतीको जराबारे मैले सँधै भन्ने कुरा हामीले राज्यको प्रशासनिक पुनसंरचना त गर्यौ तर राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना अझै हुन बाँकी छ।’
उनले संघीय लोकतान्त्रीक गणतन्त्रका निश्चित मूल्य मान्यता सिद्धान्त र दर्शनलाई आत्मसाथ गर्न नसके चुनौतीहरुको समाना गर्न नसकिने बताए।
नेपालले आर्थिक विकासको लागि चाहिने आर्थिक पूर्वाधार औद्योगिकीकरण र आन्तरिक उत्पादन तथा आयातको विषयमा बहुपक्षीय साझेदारी आवश्यक भएको उनको भनाई छ।











