Kathmandu Press

एनआरएनलाई नागरिकता दिँदै प्रधानमन्त्रीले भने- ‘मेरै पहल र संघर्षका कारण यो सम्भव भयो’

प्रधानमन्त्री दाहालले विगतमा एनआरएनएलाई एकताबद्ध गर्न, संवैधानिक र कानुनी अधिकार दिलाउन आफूले निकै ठूलो संघर्ष, मिहेनत र महत्वपूर्ण भूमिका निर्वाह गरेकै कारण नागरिकता दिन सफल भएको बताए।
एनआरएनलाई नागरिकता दिँदै प्रधानमन्त्रीले भने- ‘मेरै पहल र संघर्षका कारण यो सम्भव भयो’

काठमाडौं, असोज ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता वितरण गरेका छन्। यस क्रममा प्रधानमन्त्रीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै नागरिकता वितरणको सुरुवात गरे।

नागरिकता वितरण सुरुआत गर्न आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले विगतमा एनआरएनएलाई एकताबद्ध गर्न, संवैधानिक र कानुनी अधिकार दिलाउन आफूले निकै ठूलो संघर्ष, मिहेनत र महत्वपूर्ण भूमिका निर्वाह गरेकै कारण नागरिकता दिन सफल भएको बताए।

मंगलबार बालुवाटारमा गैरआवासीय नेपालीहरुलाई नागरिकता हस्तान्तरण गर्दै प्रचण्डले उनीहरुलाई त्यो अधिकार दिलाउन आफ्नो महत्वपूर्ण भूमिका रहेको मात्र बताएनन् उनले आफ्नै संघर्ष र पहलकै कारण नागरिकता दिलाउन सफल भएको दाबी गरे।

Photo-(6)(5)-1697517869.jpg

एनआरएनए नेपालीको संवैधानिक अधिकारलाई कानुनी रुप दिन आफ्नो नेतृत्वमा सरकार बन्नासाथ पहल थालेको उनले बताए।

‘संविधानमा व्यवस्था भएपछि पनि कानुनी व्यवस्था गर्न हामीले फेरि अर्को संघर्ष गर्नुपर्यो। निकै ठूलो संघर्ष र मेहेनतपछि हामीले सफलता हासिल गरेका छौं। पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धि हो,’ प्रधानमन्त्री दाहालले भने, ‘मेरो नेतृत्वमा नयाँ सरकार बन्नासाथ सरकारले सम्माननीय राष्ट्रपतिज्यूलाई नागरिकता विधेयक सदर गर्न आग्रह गर्यो। राष्ट्रपतिज्यूबाट सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको छ, नियमावली बनेको छ।’

उनले एनआरएनएको १०औं महाधिवेशन समयमा सम्पन्न गर्न संघभित्रको विवाद र असहमतिहरू सुल्झाएर संघलाई एकतावद्ध बनाउन प्रधानमन्त्री हुँदा वा पार्टी अध्यक्षको हैसियतले आफूले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे।

Photo-(4)(10)-1697517868.jpg

‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो संघर्ष र पहल गरेको छु । त्यसकै बलमा तपाइहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ,’ उनले भने।

उनले एनआरएनएमा आबद्ध नेपालीसँग सम्बधित थुप्रै सवालहरूलाई आफ्नो सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको भन्दै श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत् जोड्ने कार्य ऐतिहासिक भएको बताए।

‘वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ,’ उनले भने, ‘यो एउटा ऐतिहासिक काम भएको छ जस्तो लाग्छ। अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ। आगामी दिनमा यो संख्या अरु बढ्ने हाम्रो विश्वास छ।’

प्रकाशित मिति: १०:३२ बजे, मंगलबार, असोज ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्