लाखौँ प्रवासी मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जीजस्तो भयो : प्रधानमन्त्री प्रचण्ड
सोमबार जन प्रगतिशील मञ्चआवद्ध गैर आवासीय नेपाली संघ एनआरएनएका प्रतिनिधिसँगको छलफलमा उनले विदेशमा भएका लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी भएको बताएका हुन्।
काठमाडौं, असाेज २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, विदेशमा भएका लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै प्रभावकारी हुन नसकेको बताएका छन्।
सोमबार जन प्रगतिशील मञ्चआवद्ध गैर आवासीय नेपाली संघ एनआरएनएका प्रतिनिधिसँगको छलफलमा उनले विदेशमा भएका लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी भएको बताएका हुन्।
उनले भने, ‘अहिले धेरै नेपाली विदेशमा छन्। उनीहरूको मतदानको अधिकार दिएपछि मात्रै फेयर इलेक्सन हुने भयो नेपालमा। विदेशमा भएका लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुने जस्तो भयो। उहाँबाट फोन गरेको भरमा मत राख्नुपर्ने र त्यहाँ चाहिँ सोसल मिडियाजस्तो विभिन्न माध्यमबाट प्रभावित हुने खतरा जो देखा पर्यो।’
प्रधानमन्त्री प्रचण्डले देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य मान्यता, भन्दा पनि भनसुनको आधारमा चल्ने भएको टिप्पणी गरे। वैज्ञानिक ढंगले मतदानको अधिकार पनि दिनुपर्छ भन्ने नीति अन्तर्गत प्रवासीहरूलाई पनि मतदानको गराएर ल्याउनुपर्छ भनेर निर्देशन दिएको बताए।
उनले भने,‘देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य मान्यता, भन्दा पनि भनसुनको आधारमा चल्ने हुने भयो। त्यसलाई वस्तुगत र वैज्ञानिक ढंगले मतदानको अधिकार पनि दिनुपर्छ भन्ने नीति अन्तर्गत प्रवासीहरूलाई पनि मतदान गराएर ल्याउनुपर्छ भनेर निर्देशन नै दिएको छु। ’











