धार्मिक सामाजिक सद्भाव खल्बलाउने क्रियाकलापविरुद्ध गम्भीर बन्न नेपाल प्रहरीलाई निर्देशन
श्रेष्ठले केही जिल्लाहरुमा देखिएको धार्मिक र सामाजिक सद्भाव खल्वलाउने घटनालाई संवदेनशील रुपमा लिनुपर्ने भन्दै यस्ता क्रियाकलापबिरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका हुन्।
काठमाडाैं, असाेज २९ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक सामाजिक सद्भाव खल्बलाउने क्रियाकलापविरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
६८औं प्रहरी दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले केही जिल्लाहरुमा देखिएको धार्मिक र सामाजिक सद्भाव खल्वलाउने घटनालाई संवदेनशील रुपमा लिनुपर्ने भन्दै यस्ता क्रियाकलापबिरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका हुन्। यस्ता घटनाको नियन्त्रण र भविष्यमा दोहरिन नदिन सरकार र राजनीतिक पक्ष पनि गम्भीर हुनै पर्ने उनले बताए।
उनले अपराधका नयाँ प्रकृतिलाई निस्तेज पार्न र गहन रुपमा अनुसन्धान गर्न संगठनलाई थप प्रविधिमैत्री बनाउदै अघि बढाउनुपर्ने भएकाले प्रहरीलाई आवश्यक स्रोत साधान उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे। नेपाल प्रहरीको आवश्यक भूमिका र कतव्र्यबोधले मात्रै मुलुकको समृद्धि, सुशासन र कानूनी राज्यको प्रत्याभूत हुने भएकाले यस तर्फ गम्भीर हुन पनि उनले निर्देशन दिए।











