न्यायपालिका विवादमा आए जनताको आशा टुट्छ : प्रधानन्यायाधीश श्रेष्ठ
उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै आइतबार प्रधानन्यायाधीश श्रेष्ठले उक्त भनाई राखेका हुन्। उनले न्यायपालिकाप्रतिको आस्था, विश्वास र भरोसा बचाइराख्नुपर्ने बताए ।
काठमाडौं, असोज २८ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अन्तिम आशाको केन्द्र रहेको बताउँदै विवादमा आए जनताको आशा टुट्ने बताएका छन्। उनले न्यायपालिकाको गरिमा बचाउनु सबैको जिम्मेवारी रहेको भनाई समेत राखे।
उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै आइतबार प्रधानन्यायाधीश श्रेष्ठले उक्त भनाई राखेका हुन्। उनले न्यायपालिकाप्रतिको आस्था, विश्वास र भरोसा बचाइराख्नुपर्ने बताए ।
‘अहिले हामीले नयाँ भवनबाट सेवा सुरु गरेका छौं। अहिले दियो बालेर सुरुवात गरेजस्तै अब न्यायको दियो पनि सँधै प्रज्वलित हुनुपर्छ,’ प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘न्यायको दियो प्रज्वलित पार्न सबैको सहयोग र सामूहिक प्रतिबद्धताको आवश्यकता छ। यसमा बार, बेञ्च, कर्मचारी, सञ्चारमाध्यम सबैले आ–आफ्नो जिम्मेवारीवोध गरेर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ।’
प्रधानन्यायाधीश श्रेष्ठले उच्च अदालतहरुमा रहेका मुद्दामध्ये ३५ प्रतिशत मुद्दाको चाप उच्च अदालत पाटनमा रहेको पनि बताए। नयाँ भवन निर्माण भएसँगै नयाँ इजलास पनि बनेको र काम गर्न सहज भएको श्रेष्ठको भनाई थियो । यसैविच प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च, उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीशहरुको सिफारिस र नियुक्ति पनि छिटै हुने बताएका छन्।
न्यायलयमा मुद्दाको चाप बढेको र समयमै फैसला हुन नसकिरहेको बताउँदै प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘चाँडै नै सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीशको सिफारिस हुने छ । दरबन्दी अनुसारको न्यायाधीशको नियुक्ति भएपछि लगतमा रहेका मुद्दाहरु घट्ने र फैसला छिटो हुने अपेक्षा छ।’
कार्यक्रममा सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लले न्यायिक स्वतन्त्रता भनेको न्यायाधीशको स्वतन्त्रता नभएको बताइन् । मल्लले न्यायलयले अपेक्षा अनुसारको काम गर्न न्यायिक स्वतन्त्रता हुनुपर्ने पनि बताइन्। न्यायिक स्वतन्त्रता भनेको न्यायाधीशको स्वतन्त्रता नभई सेवाग्राही र सम्पूर्णको स्वतन्त्रताका लागि भएको उनको भनाई थियो । न्यायिक स्वतन्त्रताका लागि आवश्यक भौतिक संरचना लगायतको विषयमा अपेक्षा अनुसार काम हुन नसकेको भनाई समेत उनले राखिन्।
न्यायाधीश मल्लले उच्च अदालतमा मात्रै नभएर सर्वोच्च अदालतमा पनि मुद्दाको चाप अत्याधिक रहेको बताउँदै उच्च अदालतलाई थप क्षेत्राधिकार दिएर वा भएको क्षेत्राधिकारको प्रयोग गरेर अगाडि बढ्न सके मुद्दाको चाप घटाउन सकिने बताइन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भवनको उद्घाटन भई नयाँ भवनबाट सेवा सुरु भएकामा बधाई दिँदै भवनको नियमित मर्मतसम्भार र संरक्षणमा ध्यान दिन आग्रह गरे।
उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेश शर्मा पौडेलले नयाँ भवन निर्माण भई प्रयोगमा आइसकेको कारण यसले सेवा प्रवाहमा थप सहजता ल्याएको बताए। तत्कालका लागि १२ वटा इजलास नयाँ भवनबाट सुरु गरिएको भन्दै सेवाग्राहीलाई पनि थप सहजता प्रदान गरेको भनाई न्यायाधीश शर्माको थियो।
नयाँ भवन निर्माणका लागि ४६ करोड ६१ लाख रुपैयाँ खर्च भएको जानकारी उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले दिए। भवन निर्माणपछि इन्टेरियर डिजाइनिङ तथा सरसामानका लागि ११ करोड ७६ लाख खर्च भएको जानकारी पनि रजिष्ट्रार कट्टेलले दिए।











