Kathmandu Press

मनसुन आजदेखि पूर्ण रुपमा बाहिरिँदै

मनसुन आजदेखि पूर्ण रुपमा बाहिरिँदै

काठमाडौँ, असोज २८ : गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख ९यस वर्षको असोज १५ गते० भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो।

महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन सयम अक्टोबर २ तारिख हो। यसवर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो। नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भूभाग भएर यही असोज १९ गते यसवर्षको मनसुन बाहिरिएको थियो। असोज २७ गते देशको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भूभाग तथा बागमती प्रदेश र मधेश प्रदेशका आंशिक भूभागबाट बाहिरिएको छ। 

यसअघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भू(भाग र गण्डकी प्रदेशको पश्चिमी भू(भागबाटसमेत मनसुन बाहिरीसकेको छ। 'मनसुन पूर्णरुपमा बहिर्गमन हुने अवस्थामा छ', महाशाखाका मौसमविद् रोजन लामिछानेले भने, 'साँझसम्म मनसुन बाहिरिने अनुमान गरिएको छ। आजै मनसुन विशेष बुलेटिन आउनसक्छ।'
  
उनका अनुसार मनसुन अहिले कोशी प्रदेशमा केन्द्रित छ। मधेश र बागमती प्रदेशका थोरै स्थानमा बाँकी छ। हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण आगामी दिनदिनसम्म देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए।

अहिले देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। देशका पहाडी भूभागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाँईका अनुसार नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ। यो मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको हो।

नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको हो। काठमाडौँमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ।  जुन सरदरको एक सय नौ प्रतिशत हो। काठमाडौँमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ।
     
त्यसैगरी ओखलढुङ्गामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्षा भएको छ। सबैभन्दा कम जनकपुरमा छ सय ३७ दशमलव एक मिलिमिटर वर्षा मापन गरिएको छ। जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलव आठ मिलिमिटर हो।

प्रकाशित मिति: १७:२० बजे, आइतबार, असोज २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्