Kathmandu Press

सामाजिक विभेदविरुद्ध सिर्जना

सामाजिक विभेदविरुद्ध सिर्जना

काठमाडौं, असोज २७ : नेपालमा दलित समुदायभित्रका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारलाई मूल प्रवाहीकरण गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा कला कार्यशाला सुरु भएको छ। 

सामरी उत्थान सेवाको आयोजना र प्रतिष्ठान हस्तकला विभाग, समसामयिक चित्रकला विभागको सहकार्यमा ‘जातव्यवस्था र यौनिकता ः कला प्रतिरोध’ शीर्षकमा दुईदिने चित्रकला कार्यशाला सुरु भएको हो।

Hardik ivf

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भने, 'दलित समुदायले विशेष रुपान्तरण खोजेका छन्, कार्यशालामा पक्कै पनि यस्ता प्रकारका विम्ब आउने छन्, कार्यशालाले जनचेतना फैलाउने आशा राख्न सकिन्छ, कलामार्फत समानता र सरलताको स्थान बनाउनुपर्ने र त्यसको सशक्त माध्यम कला हो।'

पूर्वराजदूत पदम सुन्दासले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले यस किसिमको कार्यक्रम गरेकामा खुसी व्यक्त गर्दै कार्यशालाले दलितको भावनालाई समेट्ने बताए। उनले कलाकारले सोहीअनुसार चित्रको निर्माण गर्नुहुनेछ भन्ने अपेक्षा आफूले राखेको बताए।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सामाजिक विभेदका बारेमा कलाले बोल्नुपर्ने र चित्रमार्फत मानव प्रवृत्ति, जात व्यवस्था र यसले समाजमा पारेको प्रभावलाई सम्बोधन गर्ने बताए। 

प्राज्ञपरिषद् सदस्य अरुणा हिङ्माङले दलित र परलैङ्गिक समुदाय पनि यो समाजको हिस्सा भएको तथा उहाँहरुलाई पनि समान व्यवहार गरिनुपर्नेमा जोड दिनुभयो। उनले उनीहरुका आवाजलाई स्थान दिन आयोजना गरिएको दुईदिने कार्यशाला प्रभावकारी हुने बताए। 

प्राज्ञपरिषद् सदस्य सञ्जय वान्तवाले पानीभित्रका अनेकन विम्ब र त्यसले अवरोध सिर्जना गरेका सामाजिक कूरीति तथा कुसंस्कार धेरै भएको र कलामार्फत कुसंस्कार हटाउने अभियानमा अगाडि बढ्नुपर्ने उल्लेख गरे।

सामरी उत्थान सेवाका अध्यक्ष विमला गायकले आफूले विभिन्न सङ्घसंस्थामा बसेर काम गर्दा भोगेको तीतो यथार्थ बताउँदै प्रतिष्ठानसँग मिलेर महत्वपूर्ण काम गर्न पाउँदा खुसी लागेको बताए। आज समापन हुने कार्यशालामा २५ कलाकारले सहभागिता जनाएका छन्।

प्रकाशित मिति: १४:४० बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्