मुख्यमन्त्री कार्कीलाई सत्तारुढ गठबन्धनको समर्थन रहन्छ : प्रचण्ड
चितवनको भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको बताउँदै उनले कोसीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने दाबी गरेका हुन्।
काठमाडौं, असोज २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको बताएका छन्।
चितवनको भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको बताउँदै उनले कोसीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने दाबी गरेका हुन्। शनिबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग आफूले छलफल गरी सत्तारुढ गठबन्धनकै सरकार बनाउने समझदारी बनाएको उनको भनाइ थियो। कोसी सरकार गठनमा भएका उतारचढावकै कारण गठबन्धन नटुट्ने उनले स्पष्ट पारे।
‘हामी गठबन्धन बलियो बनाउने कुरामा अझ दृढ र स्पष्ट छौं, कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिइने छैन भन्ने सहमति भएको छ’ दाहालले भने, ‘अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ। उहाँ हामी सबैको मुख्यमन्त्री हो, त्यसैले यो समस्या जसरी सोचिएको थियो, ल्याण्डिङ हुँदाखेरि सेफल्याण्डिङ गरेका छौं ।’
कोशीमा सत्तारुढ गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेस नेता केदार कार्कीले कांग्रेसका ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। शनिबार प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरिसकेका छन्। प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई सत्तागठबन्धनका सबै दलको समर्थन रहने र विश्वासको मत दिने बताए।




-1784031842.jpg)




-1784031842.jpg)

