नेपाली भूमिमा मोदीको भ्रमणप्रति पूर्वप्रधानमन्त्री खनालको आपत्ति
आज एक विज्ञप्ति जारी गर्दै उनले भारत ठाडो हस्तक्षेपमा उत्रिएको भन्दै आक्रोश पोखेका छन्।
काठमाडौं, असाेज २७ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले, नेपाल सरकारको जानकारीबिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोप्रति आपत्ति जनाएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै उनले भारत ठाडो हस्तक्षेपमा उत्रिएको भन्दै आक्रोश पोखेका छन्। उनले त्यसबारे गठबन्धन सरकारसँग जवाफ समेत माग गरेका छन्। भारतीय प्रधानमन्त्रीको भ्रमणबारे नेपाल सरकारलाई थाहा थियो कि थिएन भन्दै उनले सरकारलाई आधा दर्जन प्रश्न गरेका छन्।
के भारतीय प्रधानमन्त्रीको कुटी भ्रमण नेपाल सरकारलाई थाहा थियो? के नेपाल सरकारसँग स्वीकृति लिएर त्यत्रो सशस्त्र शक्तिका साथ भारतीय प्रधानमन्त्री आएका हुन? त्यस्तो होइन भने नेपालले राष्ट्रिय सहमतिका साथ चुच्चे नक्सा पास गरेको होइन? यो नक्सा बमोजिमको नेपाली भूमिको रक्षा गर्ने जिम्मा नेपाल सरकारको होइन? आज गठबन्धन सरकार के हेरेर बसिरहेको छ? संसद भित्र त्यत्रो आवाज उठ्दा समेत किन आज यस बारेमा कुनै दलले एक शब्दहरु निकालिरहेको छैनन? वर्तमान गठन्बधन सरकारलाई उनले सोधेका छन्।
भारतका वर्तमान शासकहरू नेपाली भूमिको सिमानामा बार–बार अतिक्रमण गर्दै आएको आरोप लगाएका उनले नेपाली भूमिको रक्षाका लागि अनन्तकाल सम्म लड्ने बताएका छन्। उनले भनेका छन्, ‘अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका बिरुद्ध अर्को ठाडो अतिक्रमण हो। त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ र यो अन्र्तराष्ट्रिय कानून र मर्यादाको समेत विरुद्ध छ। समस्त देशभक्त नेपाली जनता यस्ता अतिक्रमण र हस्तक्षेपको कडा विरोध गर्दछौं र हाम्रो सिमानाको रक्षाको निम्ति अनन्त सम्म पनि संघर्ष गरिरहने सङ्कल्प गर्दछौ।’ उनले भारतीय प्रधानमन्त्रीले नेपाली भूमिमा गरेको गतिविधिबारे लेख्दै यसलाई आश्चर्य जनक घटनाको रुपमा व्याख्या गरेका छन्।
उनले भनेका छन्, ‘असोज २५ गते बिहीबार हाम्रो मातृभूमि नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको व्यास गाउँपालिका १ कुटी गाउँको जोलिङकाङ हेलिब्याडमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र भारतकै उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामी सशस्त्र फौज र सुरक्षाका साथ उत्रिए। त्यतिमात्र होइन उनीहरुले कुटी गाउँ स्थित पार्वती कुण्डमा पुजा आजा समेत गरे। यो आफैंमा एउटा अर्को आश्चर्यजनक घटनाका रुपमा देखा परेको छ।’
कुटी, नापी र कुञ्जी जस्ता स्थानहरू लगायत महाकाली नदीको एकमात्र शिर लिम्पियाधुरा सम्मको भूभाग ऐतिहासिक एकीकरण देखि नै नेपालका अभिन्न भूभाग रहेको इतिहाससिद्ध, तथ्यसिद्ध र तर्कसिद्ध रहेको उल्लेख गरेका छन्।
उनले थपेका छन्, ‘तर भारतका शासकहरु ती नेपालका प्रिय भूभाग माथि एक पछि अर्को अतिक्रमण गर्दै आइरहेका छन् र जबर्जस्त कब्जा गर्ने दुर्नियतले चलिरहेका छन। त्यसैको पछिल्लो कडी हो प्रधानमन्त्री नरेन्द्र मोदीको पुजा आजाको नाममा गरिएको ठाडो अतिक्रमण।’




-1784031842.jpg)




-1784031842.jpg)

