Kathmandu Press

पचली भैरवको लिङ्गो उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै

आश्विन शुक्ल चौँथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिङ्गो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो। लिङ्गो उठाउने साइत भने शनिबार गुरुजुले निकाल्ने पनि उनले बताए।
पचली भैरवको लिङ्गो उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै

काठमाडौं, असोज २७ : विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित हुने भएको छ।
 
जात्राका लागि साँखुमाथिको जंगलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले बताए।

आश्विन शुक्ल चौँथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिङ्गो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो। लिङ्गो उठाउने साइत भने शनिबार गुरुजुले निकाल्ने पनि उनले बताए।

विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुनःसुरु गर्न रञ्जितकार समुदायका युवा लागेको पनि गुठियार रञ्जितकारले बताउँछन्। जात्राका लागि लिङ्गोको रुख काट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका निकायबाट आदेश पूरा गरेर लिङ्गो टेकु पु¥याइने भएको छ।

आश्विन शुक्ल चौँथीका दिन लिङ्गो उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको छ । यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ।

अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा लिङ्गो ढालिन्छ। मल्लराजा जयराम मल्लले यो जात्राको सुरुआत गरेको विश्वास गरिन्छ। उनलाई थकु जुजु भनी यो जात्राका क्रममा पूजा गर्ने गरिएको छ।

श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको छ। गुठीका थकाली आठ दशक पार गरिसकेका वृद्ध भएकाले युवाको नेतृत्वमा साढे चार दशकपछि यो जात्रालाई पुनःस्थापना गर्न लागिएको जनाइएको छ।

प्रकाशित मिति: ०६:५८ बजे, शनिबार, असोज २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्