गैरीगाउँ हत्या प्रकणरका आरोपी सञ्जयलाई थुनामा राख्न आदेश
शुक्रबार न्यायाधीश दीनबन्धु बरालको इजलासले भण्डारीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ।
काठमाडौं, असोज २६ : जिल्ला अदालत काठमाडौंले तीनकुने, गैरीगाउँस्थित दिव्या सःमिलमा चार जनाको हत्या प्रकरणमा पक्राउ परेका सञ्जय भण्डारीलाई थुनामा राख्न आदेश दिएको छ।
शुक्रबार न्यायाधीश दीनबन्धु बरालको इजलासले भण्डारीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ। घटनामा संलग्नता देखिने पर्याप्त आधार भएको भन्दै न्यायाधीश बरालले यस्तो आदेश दिएका हुन्।
क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कसुरमा भण्डारीलाई जीवित रहेसम्म कैदमा राख्न मागदावीसहित जिल्ला सरकारी वकीलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
गत भदौ २९ गते गौरीगाउँस्थित दिव्या सःमिलमा एकै परिवारका ३ सहित ४ जनाको हत्या गरेको आरोपमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
अभियुक्त सञ्जय भण्डारीले घटनाका सम्बन्धमा कसुर कबुल गरेको, घटनास्थलमा भण्डारीको उपस्थिति देखिएको, मोबाइलको लोकेशन तथा सिसीटिभी फुटेजबाट पनि भण्डारीको उपस्थिति पुष्टि भएको भन्दै निजलाई आजिवन कैदमा राख्न माग गर्दै मुद्दा दायर गरिएको छ।
प्रहरी अनुसन्धानबाट चारजनाको हत्यामा भण्डारी संलग्न रहेको प्रमाण पुष्टि भएको जनाइएको छ।




-1784031842.jpg)




-1784031842.jpg)

