Kathmandu Press

१० नेपाली विद्यार्थीको शव पठाउन इजरायल सरकारले प्रक्रिया थालेको छ : दूतावास

१० नेपाली विद्यार्थीको शव पठाउन इजरायल सरकारले प्रक्रिया थालेको छ : दूतावास

काठमाडौं, असाेज २६ : इजरायलस्थित नेपाली राजदूतावासले, हिंसामा ज्यान गुमाएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकारले आवश्यक प्रक्रिया सुरु गरेको जानकारी दिएको छ। 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले निधन भएका १० नेपाली विद्यार्थीहरुको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको जनाएको छ।

त्यस्तै दुतावासले हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १ जनालाई उद्धार उडानमार्फत नेपाल पठाइएको र उपचाररत अर्का १ जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको बताएको छ। अन्य २ जनाको भने उपचार भैरहेको समेत विज्ञप्तिमा जनाइएको छ। 

त्यस्तै नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरुलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको पनि दुतावासले जनाएको छ।

विज्ञप्तिमा हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यलाई तीव्रता दिन इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरुसँग पुनः अनुरोध गरिएको जनाइएको छ।  नेपाल सरकार र दूतावासको सहयोगमा २५४ जना नेपालीको शुक्रबार बिहान उद्धार गरिएको थियो।

दूतावासले उद्धार कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई धन्यवाद दिँदै इजरायलवासी सम्पूर्ण नेपालीलाई संयम रहँदै निरन्तर दूतावाससँगको समन्वय  र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालन गर्न सूचित गरेको छ।
 

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्