इजरायली डिफेन्स फोर्सले दियो उत्तरी गाजा खाली गर्न २४ घण्टे अल्टिमेटम

काठमाडौँ, असोज २६ : इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले उत्तरी गाजाका नागरिकलाई २४ घण्टाभित्र बसोबास गरेको स्थान छाडेर खाली गर्न भनेको छ।
इजरायली सेनाले हमासविरुद्ध जवाफी कारबाही थाल्न उत्तरी गाजाका नागरिकलाई दक्षिणतर्फ जान भनेको छ। इजरायली सेनाले भने हमासविरुद्ध जमिनमार्फत आक्रमणलाई बढाउने चेतावनी दिएको छ। उत्तरी गाजामा ११ लाख मानिस रहेको अनुमान गरिएको छ।
यता संयुक्त राष्ट्र संघले भने यति ठूलो संख्यामा नागरिकहरु दक्षिणी गाजा जान सहज नभएको बताएको छ। राष्ट्र संघका अनुसार युद्ध चर्किएपछि गाजामा ३ लाख ४० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन्।
बिबिसीसँगको कुराकानीमा आईडीएफ प्रवक्ता हगारीले भनेका छन्, ‘यो युद्धक्षेत्र हो। हामी उनीहरूलाई समय दिन खोजिरहेका छौँ। हामीलाई थाहा छ कि यसका लागि २४ घण्टाभन्दा बढी समय लाग्दैन।’ यता हमासले भने इजरायली सेनाको निर्देशनलाई बेवास्ता गर्न गाजाका बासिन्दालाई आग्रह गरेको जनाइएको छ। हगारीले गाजाका मानिस सुरक्षित स्थानमा नगए त्यसबाट आउने परिस्थितिको जिम्मेवार हमास नै हुने बताएका छन्।
हमासको आक्रमणमा परी हालसम्म १३ सयभन्दा बढीको मृत्यु भएको जनाइएको छ। यस्तै इजरायलको आक्रमणमा १४ सयभन्दा प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाइएको छ। हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको समेत मृत्यु भएको छ।
अमेरिकी विदेशमन्त्री र प्यालेस्टिनी राष्ट्रपतिबीच भेट
यसैविच युद्ध चर्किरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासविच भेट भएको छ। ब्लिंकेनले शुक्रबार जोर्डनमा प्यालेस्टिनी राष्ट्रपति अब्बासलाई भेटेका हुन्। उनी इजरायलबाट जोर्डन पुगेका हुन्। ब्लिंकेनले विहीबार इजरायली समकक्षी एली कोहेन र प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई समेत भेटेका थिए।
उनले शुक्रबार नै जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ। यसैबीच हमासले आफ्नो कब्जामा रहेका १३ जना सर्वसाधारण इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको छ। मारिनेमा केही विदेशी नागरिकसमेत रहेको जनाए पनि विस्तृत जानकारी भने सार्वजनिक भएको छैन।
हमासले टेलिग्राममा इजरायली आक्रमणमा १३ जना इजरायली बन्दी मारिएको बताएको हो। हमासले १५० भन्दा बढीलाई बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।










-1784031842.jpg)
