कार्कीको समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध
कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार बैठकले पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोधसमेत गरेको छ।
विराटनगर, असाेज २६ : नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्कीको समर्थन गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ।
आज विराटनगरमा बसेको समितिको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ जना सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो। कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार बैठकले पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोधसमेत गरेको छ।
पार्टीको केन्द्रीय स्तरबाट थप केही निर्देशन आए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरिएको जनाइएको छ।कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कार्कीले एमालेसहितको सहयोगमा कांग्रेसका ८ जना सभासदहरुको समर्थनमा बिहीबार दाबी पेस गरेका थिए।
यसैगरी मुख्यमन्त्रीका लागि कांग्रेससहित गठबन्धन दलहरुले माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई समर्थन गरेपछि उनले पनि दाबी पेस गरेका छन्। पार्टीको उक्त निर्णयबाट असन्तुष्ट बनेको कांग्रेसको शेखर कोइराला पक्षले कार्कीलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरेको हो।
पार्टीले गठबन्धन दलका एकजनालाई समर्थन गर्ने अनि प्रदेश स्तरमा आफ्नै नेताले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कांग्रेसमा विवाद चुलिएको छ।










-1784031842.jpg)
