Kathmandu Press

कोशीमा को बन्ला मुख्यमन्त्री?

कांग्रेस, नेकपा एस र जनता समाजवादीको समर्थनमा माओवादीका इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी गर्दा कांग्रेसकै दीपक कार्कीले पनि एमालेको र कांग्रेसकै ८ सांसद्को समर्थनमा मुख्यमन्त्री दाबी गरेका छन्।
कोशीमा को बन्ला मुख्यमन्त्री?

मोरङ, असोज २५ : कोशी प्रदेशमा आज नयाँ मुख्यमन्त्रीको टुंगो लाग्ने सम्भावना छ। मुख्यमन्त्री बन्नका लागि हिजो बिहीबार दुई जनाले दाबी पेस गरेका थिए।

सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन्।

यसैगरी केन्द्रमा भएको सहमतिप्रति असन्तुष्ट रहेको नेपाली कांग्रेसको शेखर कोइराला पक्षका सभासद केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनले कांग्रेसका ८ तथा नेकपा एमालेका ३९ जना सभासदको समर्थनसहित दाबी पेस गरेका हुन्।

दाबी पेस भएअनुसार अध्ययन गरी प्रदेश प्रमुख पर्शुराम खापुङले आज नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

आङ्बोले माओवादीसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी संसदीय दलका नेताको हस्ताक्षरमा आफूलाई ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

कार्कीले ४८ जना सांसदको छुट्टाछुट्टै हस्ताक्षरसहित दाबी पेस गरेका छन् । उनलाई एमालेका ३९ जना सांसदको समर्थन छ।

कार्कीका पक्षमा उनी स्वयंसहित कांग्रेसबाट उदयपुरका सांसद रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीकी सुनीता गुरुङ र उदयपुरकी लीलाकुमारी राईले सुरुमा हस्ताक्षर गरेका छन्।

यसैगरी संसदीय दलका उपनेतासमेत रहेका उदयपुरका हिमाल कार्कीले पनि उनको पक्षमा हस्ताक्षर गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले शुक्रबार ५ बजेसम्मको समय रहेकाले शुक्रबारै नियुक्त गर्ने तयारी भएको बताएका छन्। मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएकाले छलफल भइरहेको बताए।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ। कोशीमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जनता समाजवादी पार्टी (जसपा) का एकजना सांसद छन्।

प्रकाशित मिति: १२:०३ बजे, शुक्रबार, असोज २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्