कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समिति बैठकको मुख्य एजेन्डा पार्टीबाट विद्रोह गरेर चालिएको कदममा विचार गरिने भएको नेताहरुले बताएका छन्।
मोरङ, असोज २६ : नेपाली कांग्रेस कोशी प्रदेशअन्तर्गत कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
कोशी प्रदेश सरकारको नेतृत्वका सम्बन्धमा पछिल्लो समय चर्किएको विवादका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो।
संस्थापन पक्षसहित गठबन्धन दलहरुले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोको नाममा सहमति गरेको छ। तर कांग्रेसका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेपछिको अवस्थालाई ध्यान दिँदै बैठक बस्न लागेको एक नेताले बताए।
गठबन्धन दलहरुको सहमतिमा हिजो बिहीबार माओवादीका तर्फबाट आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। यसैगरी कांग्रेसका कार्कीले कांग्रेका ८ जना सभासद र एमालेका सभासदको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
कांग्रेस कार्यसम्पादन समिति बैठकको मुख्य एजेन्डा पार्टीबाट विद्रोह गरेर चालिएको कदममा विचार गरिने भएको नेताहरुले बताएका छन्।
गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता आङ्बोलाई उम्मेदवार बनाउन संस्थापन कांग्रेसले सहमति गरेको थियो। उक्त सहमतिप्रति कांग्रेसको शेखर कोइराला पक्ष असन्तुष्ट बनेको थियो।
नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईका अनुसार कोशी सरकारको नेतृत्वका सम्बन्धमा पछिल्लो समय देखिएको असहज अवस्थालाई ध्यान दिंदै त्यसै विषयमा छलफल र आवश्यक निर्णय गर्न बैठक बस्न लागेको हो।
कार्यसम्पादन समितिको बैठक बसेपछि आजै काग्रेस संसदीय दलको बैठक पनि बस्ने जनाइएको छ।











-1784031842.jpg)