नेपालीलाई उद्धार गरेर एनएसीको जहाज इजरायलबाट उड्यो, राति १ः३० बजे काठमाडौं आइपुग्ने
पराष्ट्रमन्त्री एनपी साउदसहित उद्दारका लागि इराजयल पुगेको विमान २५४ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडेको छ।
काठमाडौं असोज २५ : इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान इजरालयबाट नेपालका लागि उडेको छ।
पराष्ट्रमन्त्री एनपी साउदसहित उद्दारका लागि इराजयल पुगेको विमान २५४ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडेको छ। परराष्ट्र मन्त्रालयका अनुसार सो विमान आजै राति राति १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा अवतरण गर्नेछ।
नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेको थियो। इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको २७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो।
शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए। एक जना नेपालीको अवस्था अझै अज्ञात छ ।
इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्रह गर्दै नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत संकलन गरिरहेको छ ।
हालसम्म ३५० भन्दा बढी नेपाली नागरिकले आफ्नो विवरण उपलब्ध गराएका छन्। विवरण दिनेमध्ये २८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेको बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए।
इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा किबुज अलुमिममा अध्ययनरत सुदूरपश्चिम विश्वविद्यालयका १७ विद्यार्थी मध्ये १० जनाको मृत्यु भएको थियो।
इजरायलबाट तत्काल शव ल्याउन भने कठिन देखिएको छ । इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाहरूको शव हस्तान्तरणको कानुनी प्रक्रियाका कारण शव ल्याउन ढिलाइ हुने भएको हो।
हालसम्म शवको परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले विमानमा शव ल्याउन नसकिएको हो। परराष्ट्र मन्त्रालयले सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रहेको र मृतकहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने जनाएको छ।
इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुनेबित्तिकै उच्च प्राथमिकताका साथ शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने गरिने छ।











-1784031842.jpg)