नक्कली भुटानी प्रकरणको सुनुवाई दशैंपछि मात्र
उच्च अदालत पाटनमा भएको सुनुवाईपछि बिहीबार ‘अन्य आदेश’ गर्दै दशैंपछिको पहिलो विहीबारका लागि अर्को पेशी तय गरिएको छ।
काठमाडौं, असोज २६ : नक्कली भुटानी शरणार्थीका नाउँमा नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगसहित थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतको मुद्दामा दशैंपछि सुनुवाई हुने भएको छ।
उच्च अदालत पाटनमा भएको सुनुवाईपछि बिहीबार ‘अन्य आदेश’ गर्दै दशैंपछिको पहिलो विहीबारका लागि अर्को पेशी तय गरिएको छ।
भुटानी शरणार्थी प्रकरणसँग जोडिएको अर्को निवेदन पनि पेस भएको र जिल्ला अदालतबाट कैफियत प्रतिवेदन पेस भएको अबस्थामा एकसाथ राखेर सुनुवाइ गर्ने भन्दै अन्य आदेश भएको छ। बिहीबार न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासले अन्य आदेश गर्दै दशैंपछि सुनुवाई हुने समय तय गरेको हो।
उच्च अदालतको आदेश नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको दशैं जेलमै बित्ने भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी र संगठित अपराध गरेको दाबीसहित पूर्व गृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री रायमाझी, सचिव पाण्डेलगायतलाई थुनामा पठाएको थियो।
काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको र बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित गत साउन १२ गते अभियुक्तले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका थिए।











-1784031842.jpg)