रिगलको माफी मिनाहा प्रकरणमा अर्को सुनुवाइ कात्तिक १४ गते

काठमाडौं, असोज २५ : ज्यान मुद्दाका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकालको कैद माफीविरुद्ध पीडित परिवारले दायर गरेको रिटमा अर्को सुनुवाई कात्तिक १४ गते हुने भएको छ।
पीडित तर्फका कानुनव्यवसायी किर्तीनाथ शर्माले जनाए अनुसार अर्के सुनुवाई कात्तिक १४ गते हुने गरी आदेश भएको छ। ‘आज दुई तीनजना कानुनव्यवसायीको बहस भयो। अर्को सुनुवाइ कात्तिक १४ गते हुने गरी आदेश भएको छ,’ शर्माले जानकारी दिँदै भने।
बिहीबार सुनुवाईका लागि प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको पूर्ण इजलास गठन भएको थियो। नेपालगञ्जको सडकमा रिगल समेतको समूहले खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गरेको अभियोगमा जन्म कैद तोकिएका रिगललाई सरकारको सिफारिसमा माफी मिनाहा दिइएको बताउँदै मृतककी पत्नी भारती शेर्पा मानन्धरले रिट दायर गरेकी थिइन्।
प्रधानन्यायाधीश श्रेष्ठ तथा न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा पीडितका कानुनव्यवसायीले वहश गरेका थिए। यसअघि सर्वोच्चले अदालतले राष्ट्रपति कार्यालयबाट सम्पूर्ण सक्कल फाइल झिकाएको थियो।
सर्वोच्चले उक्त प्रकरणमा महान्यायाधिवक्ता डा.दिनमणि पोखरेल आफैं उपस्थित भएर बहस गर्न भनेको थियो। रिगलसहितको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय मानन्धरको खुँडा प्रहार गरी हत्या गरेको दाबी पीडितको छ।











-1784031842.jpg)