Kathmandu Press

कांग्रेसका कारण कोसी प्रदेशमा राजनीतिक संकट आएको मुख्यमन्त्रीको आरोप

बिहीबार जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले कांग्रेसका कारण प्रदेशमा सरकार बन्न नसक्ने अवस्था आएको बताए।
कांग्रेसका कारण कोसी प्रदेशमा राजनीतिक संकट आएको मुख्यमन्त्रीको आरोप

विराटनगर, असाेज २५ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसका कारण प्रदेशमा राजनीतिक संकट आएको आरोप लगाएका छन्। बिहीबार जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले कांग्रेसका कारण प्रदेशमा सरकार बन्न नसक्ने अवस्था आएको बताए।

दलहरु मिलेर सरकार बनाउने जनादेश प्राप्त भए पनि कांग्रेसले नचाहँदा संकट आएको उनको भनाइ छ। निर्वाचनबाट मिलेर जान दलहरुलाई जनमत प्राप्त भएकाले आफूहरु मिलेर जाने प्रयासमा लागेको तर कांग्रेसले जिम्मेवार भएर संकटको समाधान गर्न नचाहेको मुख्यमन्त्री कार्कीले बताए।

एमाले र कांग्रेस मिलेको अवस्थामा प्रदेशमा राजनीतिक स्थायित्व कायम हुन सक्ने भन्दै उनले कांग्रेसलाई मिलेर अघि बढ्न आग्रह गरे। मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नभएपछि राजीनामा दिएका छन्। त्यसपछि प्रदेश प्रमुखबाट अर्को सरकार गठनका लागि आह्वान भइसकेको छ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि शुक्रबारसम्मको समय दिएका छन्। यसैबीच, सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले माओवादीलाई सरकारको नेतृत्व दिने सहमति काठमाडौंमा गरेका छन्। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्री बनाउने कुरामा दलका नेताहरुबीच सहमति भएको छ।
 

प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्