भ्रष्टाचारका स्वरुपहरु परिवर्तन हुन थालेकाले नियन्त्रणमा समस्या : प्रेमकुमार राई

काठमााडाैं, असाेज २४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका स्वरुपहरु परिवर्तन हुन थालेकाले नियन्त्रणमा पनि समस्या देखिन थालेको बताएका छन्।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आयोगका प्रमुख राईले प्रमाण सङ्कलन नै गर्न नसकिने गरि भ्रष्टाचारका स्वरुपहरु परिवर्तन हुन थालेको बताएका हुन्। भ्रष्टाचारका ठूला कारोवार देशबाहिर हुने गरेको र स्वदेशमा पनि भ्रष्टाचार एउटाले गर्ने र पैसा अर्कोले लिने परिपाटी देखिएको उहाले बताए।
उनले अहिले स्थानीय तहमा भ्रष्टाचारको संख्या बढ्दै गएको जिकिर गरे। स्थानीय उपभोक्ता समितिले नै ठूला संरचना बनाउनका लागि ठेक्का लिने र काम ठेकेदारलाई लगाउदा उपभोक्ता समिति बिचौलिया जस्तो देखिएको उनको भनाइ छ। राईले मालपोत, यातायातका क्षेत्रमा पनि बिचौलियाहरुले पैसा लिएर भ्रष्टाचार हुने गरेको र त्यसलाई नियन्त्रण गर्न असहज भएको बताए।
उनले भ्रष्टाचार नियन्त्रणका लागि दायरा फराकिलो पारेर कानून निर्माण गर्नुपर्नेमा जोड दिए। भ्रष्टाचारमा अख्तियारले ठूला वा साना नभनेको र ठूला प्रकरणमा अख्तियारले पनि अनुसन्धान गरिरहेको उनले बताए। बैठकमा समिति सदस्यहरुले अहिले अख्तियारप्रतिको डर घट्दै गएकाले भ्रष्टाचारको संख्या बढ्दै गएको बताएका थिए।
रास्वपा सभापति रवि लामिछानेले ठुला भनिएका प्रकरणमा अख्तियारले गरेको अनुसन्धान बिचैमा तुहिने गरेको आरोप लगाए। विगत पाँच वर्षमा अख्तियारले दायर गरेको मुद्धा र नयाँ नेतृत्व आएपछि मुद्धा दर्ताको संख्या घटेको उनले बताए। उनले पहुँच नहुनेलाई मात्रै अख्तियारप्रति डर र भर भएको र ठूलालाई डर र भर केहि नभएको तर्क गरे। अख्तियारको उच्च पदमा बसेको व्यक्ति राज्यको अन्य निकायमा पुग्दा भ्रष्टाचारको प्रमाण नष्ट गर्ने आशंका रहेको उनले बताए।
त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले अख्तियारप्रति जनताको मान्यतालाई कायम गर्न काम कारवाही र कानूनलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे। उनले अख्तियारलाई प्रभावकारी बनाउन नियुक्ती प्रकृयामा पनि पुनर्बिचार गर्नुपर्ने बताए। बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन–२०४८ लाई संशोधन गर्न बनेको विधेयकका बारेमा पनि छलफल भएको थियो ।











-1784031842.jpg)