उद्योगधन्दा धाराशायी हुँदा अर्थतन्त्र संकटग्रस्त : अध्यक्ष नेपाल

लुम्बिनी, असोज २२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धाराशायी हुँदा देशको अर्थतन्त्र सङ्कटमा परेको बताएका छन्।
सो पार्टीका मेची-महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आज बुटवलका उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि, वन र खनिजमा आधारित उद्योगको प्रवर्धन गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष नेपालले नीतिगत तहमै दलाल, बिचौलिया र भ्रष्टहरुको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै गएको दाबी गरे। उनले उच्च तहको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा धाराशायी बनाएको टिप्पणी गरे।
उनले व्यवसायीमाथि अहिले वित्तीय शोषणसमेत भइरहेको बताउँदै कर तथा भन्सारसम्बन्धी नीति परिमार्जन र स्वदेशी उद्योगको विकास गरी रोजगारी सिर्जनाका लागि आफ्नो पार्टीका तर्फबाट पहलकदमी गर्ने बताए।
अध्यक्ष नेपालले बैंकहरुले पनि उद्योग तथा कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिए। उनले मुलुकको आर्थिक सङ्कट, युवाशक्ति विदेश पलायन र समाजमा देखा परेका तमाम नागरिकका जनसारोकारको मुद्दालाई लिएर मेचीमहाकाली समाजवादी जागरण अभियान सुरु गरिएको बताए।
सो अवसरमा उद्योगी व्यवसायीले बैंकको चर्को ब्याज, व्यापार व्यवसायमा देखिएको शून्यता, कच्चापदार्थको अभाव जस्ता समस्या भोगेको भन्दै आफूहरु विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका थिए।











-1784031842.jpg)