काठमाडौं महानगरका तीन सडकखण्डलाई एकतर्फी बनाइने

काठमाडौं, असोज २२ : काठमाडौं महानगरभित्रका तीनवटा सडकखण्डलाई एकतर्फी बनाइने भएको छ ।
कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक, दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक र त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिंगाल निस्किने सडक एकतर्फी बनाउन लागिएको ट्राफिक प्रहरीले जनाएको छ।
ती सडक एकतर्फी बनाउने निर्णय भइसके पनि ट्राफिक संकेत राख्न र सार्वजनिक सूचना निकाल्न बाँकी छ। सूचना जारी भएपछि केही दिन यात्रु र चालकहरुलाई एकतर्फी बनाइएकोबारे जानकारी दिइनेछ। त्यसपछि अर्को सूचना निकालेर नियम कार्यान्वयनमा ल्याउने र उल्लंघन गर्ने चालकलाई जरिमानासहित गर्ने जनाइएको छ।
सडक एकतर्फी निर्णय कार्यान्वयनमा आए त्रिपुरेश्वरबाट सेतोपुल हुँदै सानेपातर्फ जान पाइए पनि फर्किन पाइनेछैन। जमल र दरबारमार्गबाट रत्नपार्कतर्फ आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडिएर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइनेछैन। पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडकखण्डमा अब काठमाडौं प्लाजाबाट बायाँ मोडिएर महेन्द्र सालिकतर्फ जान पाइनेछैन।











-1784031842.jpg)