Kathmandu Press

गैरआवासीय अभियानमा श्रमिकका मुद्दालाई पहिलाे प्राथमिकता दिन्छु : अध्यक्ष प्रत्यासी शर्मा

रेमिट्यान्स रकमलाई उत्पादन मुलक क्षेत्रमा लगाउनको लागि प्राधिकरण गर्न एजेण्डा ल्याएको बताउँदै गैरआवासीय अभियान सामाजिक कार्यलाई निरन्तरता दिदैं नेपालको आर्थिक विकासमा लाग्नुपर्नेमा उनले जोड दिए।
गैरआवासीय अभियानमा श्रमिकका मुद्दालाई पहिलाे प्राथमिकता दिन्छु : अध्यक्ष प्रत्यासी शर्मा

काठमाडौं, असोज २२ : गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार (आरके) शर्माले श्रमिकका मुद्दालाई आफूले पहिलो प्राथमिकता दिएर अगाडि बढेको बताएका छन्

एनसीसी कुवेतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शर्माले विगतमा पछाडि पर्ने श्रमिकका मुद्दाहरू अभियानमा अहिले प्राथमिकताका साथ उठ्न थालेको बताए।

‘मध्यपूर्व र श्रमिकका मुद्दाहरू पहिला हाम्रा नेताहरूले प्राथमिकतालाई खासै प्राथमिकतामा नपर्ने स्थिति थियो,’ शर्माले भने, ‘अहिले सबैले श्रमिकका मुद्दालाई प्राथमिकता दिएका छन्,यो मध्यपूर्व र श्रमिकको लागि राम्रो विषय हो।’

उनले आफूले २४ महिनामा २४ बाचासहित उम्मेदवारी घोषणा गरेको र त्यसमा गैरआवासीय नेपाली अभियानलाई एकीकृत गराउने विषय राखेको भन्दै गैरआवासीय अभियान फुटेर नभएर एकीकृत भएर अगाडि बढाउनुपर्ने बताए।

मध्यपूर्वलाई भोट बैंकको रूपमा मात्र नहेर्न र निर्वाचनको बेला मात्र सम्झने वातावरण गैरआवासीय अभियानमा हुन नहुने भनाइ शर्माको छ।

शर्माले एनसीसी कुवेतको स्थापनाकालदेखि सहयोग गरेको स्मरण गराए। एनसीसी कुवेतले श्रमिकको लागि खडा गरेको कोषमा शर्माले ५ लाख २१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उनले यो सहयोग निर्वाचन लक्षित नभएको भन्दै सधै आफू श्रमिकको हितमा रहेको जानकारी गराए।

‘गैरआवासीय नेपाली अभियानको क्रममा करिब १८ वर्ष अभियानमा बिताएको छु। स्थापनाको २० वर्षमा अभियानमा केही हजार जना उद्यमी र धनी बनेर राम्रो काम गरेका छन्, मेरो एजेण्डा सबै श्रमिकलाई आर्थिक अवस्था उकास्नेमा हो,’ शर्माले भने।

उनले रेमिट्यान्स रकमलाई उत्पादन मुलक क्षेत्रमा लगाउनको लागि प्राधिकरण गर्न एजेण्डा ल्याएको बताउँदै गैरआवासीय अभियान सामाजिक कार्यलाई निरन्तरता दिदैं नेपालको आर्थिक विकासमा लाग्नुपर्नेमा आफ्नो जोड रहेको उल्लेख गरे।

मध्यपूर्व र श्रमिकले हरियो पासपोर्ट बोकेर गैरआवासीय नागरिकता पक्षमा उभिएको भन्दै अब आफूहरु नागरिकता निरन्तरताको पक्षमा लाग्ने बताए। उनले भने, ‘हामी मध्यपूर्व बाहिर बस्ने गैरआवासीय नेपालीको मागमा सधैं साथमा छौं र रहने छौं । बाहिर बस्ने नेपालीले मध्यपूर्वले लगाएको गुन तिर्ने बेला आएको छ।’

उनले कुवेतका अभियन्तालाई मध्यपूर्वको एजेण्डालाई गैरआवासीय नेपाली अभियानमा स्थापित गर्न एकता हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १०:४४ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्