इजरायल आक्रमणमा परेका तीन विद्यार्थीलाई अस्पताल लगियो
इजरायलस्थित राजदुतावासका अनुसार घाईते मध्ये तीनजनाई उपचारका लागि अस्पताल लगिएको, दुई जना अझै बंकरमै रहेको र १२ जना संपर्कविहीन रहेको छ।
काठमाडौँ, असोज २१ : दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा हमासको आक्रमणमा परी घाइते भएका तीन जना नेपाली विद्यार्थीलाई अस्पताल लगिएको जनाइएको छ।
इजरायलस्थित राजदुतावासका अनुसार घाईते मध्ये तीनजनाई उपचारका लागि अस्पताल लगिएको, दुई जना अझै बंकरमै रहेको र १२ जना संपर्कविहीन रहेको छ। शनिबार दिउँसोबाट १२ जनासँग दूतावासको संपर्क स्थापित हुन नसकेको हो। इजरायलको सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा नेपाली विद्यार्थी घाइते भएका हुन्।
त्यहाँस्थित कृषि फार्ममा १७ जना विद्यार्थी थिए। अस्पतालमा लगिएको तीन विद्यार्थीमध्ये एकजनालाई आईसीयूमा राखिएको जनाइएको छ भने एक जना डिस्चार्जको तयारीमा छन्।
त्यहाँस्थित दूतावासले इजरायली निकायलाई विद्यार्थीहरु भएको स्थान बारे जानकारी उपलब्ध गराएको छ। गाजा क्षेत्रबाट नजिक रहेको सेदोत नेगेभको किवुज अलुमिन क्षेत्र हमास लडाकुहरुको नियन्त्रणमा रहेको जनाइएको छ। विद्यार्थीहरु शनिबार रकेट आक्रमणबाट घाइते भएका थिए।
उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए। त्यहाँ ४९ नेपाली विद्यार्थीहरु रहेको जनाइएको छ।











-1784031842.jpg)