Kathmandu Press

हरि कुमारको पहिलो सांगीतिक कोसेली ‘पर्दैन मर्न मेरा लागि...’  

हरि कुमारको पहिलो सांगीतिक कोसेली ‘पर्दैन मर्न मेरा लागि...’  

काठमाडौं, असाेज २० : एक दशकदेखि संगीत सिकिरहेका बाग्लुङका हरि कुमार पहिलो संगीतिक कोसेली लिएर दर्शकश्रोतामाझ आएका छन्। आफ्नै शब्द, संगीत र स्वरमा ‘पर्दैन मर्न मेरा लागि...’ बोलको अधुनिक गीत र त्यसैको भिडियो सार्वजनिक गरेर उनले आफ्नो सांगीतिक यात्रा प्रारम्भ गरेका हुन्।

‘हरि कुमार’ नामक आफ्नै युट्युब च्यानलमार्फत उनले शुक्रबार गीत सार्वजनिक गरेका हुन्। फाइनट्युन रेकर्डिङ स्टुडियोमा तयार पारिएको गीतको संगीत संयोजन पवन रानाभाटले गरेका हुन्। गीतको भिडियोमा उनी आफैँ देखिएका छन्। भिडियोको छयांकन रामकुमार केसी र सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। भिडियो सुजन शर्माको निर्देशनमा तयार भएको हो।

प्रेम निश्छल हुनुपर्ने भाव बोकेको गीतमा प्रेमीप्रेमिका एकअर्कामा समर्पित हुनुपर्ने सन्देश प्रवाह गरिएको छ। कुनै कारणले प्रेममा खटपट आए कसैले पनि अप्रिय निर्णय लिन नहुनेमा गीतले जोड दिएको छ। छलकपटले मायाकाे आयु घट्ने हुनाले आपसी विश्वास र भरोसा टुट्न नदिन सचेत रहनुपर्ने विचारसमेत गीतमा अभिव्यक्त छ।

संगीत सिक्न र सांगीतिक क्षेत्रमै आफ्नो भविष्य खोज्न बाग्लुङकाे मालिकाबाट काठमाडौं छिरेका हरिकुमार आँट गरेर पहिलो कोसेली दर्शकश्रोतामा ल्याएको बताउँछन्। संगीतमा निखारिन अझै लामो समय लाग्ने ठम्याइ रहे पनि बिस्तारै दर्शकश्रोतासँग जोडिँदै जाने हिसाबले सांगीतिक पाइला अघि सारेकाे उनकाे भनाइ छ। अरू गीतहरू पनि तयारी अवस्थामा रहेकाले बिस्तारै निकाल्दै जाने उनी सुनाउँछन्।

‘संगीतमै केही गर्ने सोच राखियो। त्यसैले संगीत सिकिरहेको पनि छु। सधैं चुप लागेर पनि बस्न भएन भन्ने लाग्याे,’ उनी भन्छन्, ‘के होला कसो होला भन्ने लाग्दालाग्दै गीत निकालेकाे छु। दर्शकश्रोताको प्रतिक्रिया राम्रो आइरहेकाले उत्साहित छु। पिरिस्थितिले साथ दिए अझै धेरै गीत लिएर आउने योजना छ।’

सोखले मात्र संगीतमा अघि बढ्न कठिन हुने भएकाले साधनामा अहोरात्र लागिपरेको बताउने उनी गायनसँगै तबला, गिटार वादन सिकाइमा पनि मरिमेटेर लागिपरेका छन्। काठमाडाैंमा टिक्न स्वरोजगार गर्दै आए पनि संगीतकर्मलाई नै बढी समय दिइरहकाे उनी बताउँछन्। आफ्नो पहिलो गीतलाई दर्शकश्रोताले रुचाइदिनेमा उनी विश्वस्त छन्। ‘धेरै मिहिनेत गरेको छु, राम्रो होला भन्ने आशा छ,’ उनी भन्छन्।    

प्रकाशित मिति: १५:५० बजे, शनिबार, असोज २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्