आइतबारबाट ४२ जिल्लामा सस्तो पसल
उपत्यकामा रहेका आठ बिक्री केन्द्र, तीन वटा घुम्ती पसल सहित ३५ स्थान र उपत्यका बाहिर ४८ स्थानमा बिक्रीस्थल रहने सस्तो पसल सञ्चालन हुनेछ।
काठमाडौं, असोज २० : सरकारले उपत्यका र उपत्यका बाहिर गरी आइतबार बाट ४२ जिल्लामा चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ।
उपत्यकामा रहेका आठ बिक्री केन्द्र,तीन वटा घुम्ती पसल सहित ३५ स्थानमा बिक्रीस्थल रहने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ। यस्तै, उपत्यका बाहिर पनि सरकारले ४८ स्थानमा चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्न लागेको छ।
उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल सञ्चालन गर्ने सचिवालयले जानकारी दिएको हो।
सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ।
जसमा साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनमा सामान किन्दा चिनी प्रतिकिलो ९७ रुपैयाँमा पाउनेछन्।
यस्तै, नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ उपभोक्ताले छुट पाउने छ। दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २० र पनिर प्रतिदुई सय ग्रामकिन्दा २० रुपैयाँ छुट दिनेछ।











-1784031842.jpg)