रोमानियासँग नेपालले गर्यो श्रम सम्झौता
द्विपक्षीय वार्ताको क्रममा नेपालमा छिट्टै रोमानियाका लागि राजदूतावास स्थापना गरी आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्ने पनि समझदारी भएको छ।
काठमाडाैं, असाेज १९ : नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको छ। शुक्रबार श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोमानियाकी श्रममन्त्री सिमोना बुकुरा ओप्रेक्स्कुसँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
द्विपक्षीय वार्ताका क्रममा मन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषयहरू र द्विपक्षीय श्रम समझादारीका आवश्यकता र प्रभावका बारेमा कुरा उठाएका थिए।
रोमानिया पक्षबाट नेपाली कामदारको हकहित सुरक्षा कायम गर्ने प्रतिबद्वता व्यक्त गर्दै उलेख्य संख्यामा नेपाली कामदार माग रहेको र पारदर्शी रूपमा कामदारको छनोट तथा छोटो अवधिमा कामदार लैजाने प्रक्रियामा समन्वय र सहकार्य गर्ने चासो व्यक्त भएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
युरोपियन मुलुक रोमानिया नेपालीका लागि आकर्षक र सुरक्षित श्रम गन्तव्यका रूपमा रहेको छ। श्रम बजारको फराकिलो सम्भावना रहेकोले नेपाल र रोमानियाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप समझदारी कायम भएको छ।
प्रतिनिधिमण्डलबीचको द्विपक्षीय वार्ताको क्रममा नेपालमा छिट्टै रोमानियाका लागि राजदूतावास स्थापना गरी आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्ने पनि समझदारी भएको छ।
रोमानियाले ठूलो संख्यामा आप्रवासी कामदारहरूको माग रहेकाले कार्य स्वभाव, इमान्दारिता, लगनशीलताका कारण नेपालबाट ठूलो संख्यामा श्रमिक लैजाने सम्भावना रहेको जनाएको छ। रोमानियाले नेपालबाट कामदार छोटो समयमा ‘इथिकल रिक्रुटमेन्ट मार्फत रोमानिया ल्याउने कानुनी प्रावधान तथा व्यवस्थापनका बारेमा चासो व्यक्त भएको छ।











-1784031842.jpg)