Kathmandu Press

भूकम्प प्रभावितको घर बनाइदिने प्रधानमन्त्रीकाे प्रतिबद्धता

भूकम्प प्रभावितको घर बनाइदिने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडाैं, असाेज १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितको घर बनाइदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार गएको भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी लिन आज (शुक्रबार) बझाङ पुगेका प्रधानमन्त्री दाहालले पीडितलाई भेटेर नै घर बनाइदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका प्रधानमन्त्री दाहालले जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेका थिए। टोलीमा प्रधानमन्त्री दाहालका साथमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत छन् ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते मंगलबार गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ।  उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने भूकम्पमा परी २० जना घाइते भएका छन्। घाइतेमध्ये १३ जना उपचारपछि घर फर्किएका छन् भने ७ जना उपचाररत छन्।

भूकम्पले प्रदेशभर ७६ वटा घर भत्किए। तीमध्ये बझाङका ६४, बाजुराका ९, बैतडीका दुई र अछामका एक छन्। 

प्रकाशित मिति: १५:४२ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्