भूकम्प क्षतिबारे बुझ्न प्रधानमन्त्री आज बझाङ जाँदै
प्रधानमन्त्री प्रचण्कडको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत छन् ।
काठमाडौं, असोज १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बझाङमा भूकम्प क्षतिबारे स्थलगत निरीक्षणमा गर्न जाँदै छन् । शुक्रबार विहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली बझाङ जान लागेको हो ।
प्रधानमन्त्री प्रचण्कडको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत छन् ।
बिहीबार प्रधानमन्त्री प्रचण्ड बझाङका भूकम्पबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका थिए । उद्दार र व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई उनको निर्देशन थियो ।
मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको मुत्यु भएको छ । बझाङमा १८ जना, अछाममा पाँच जना, बाजुरामा दुई र बैतडीमा दुई जना घाइते भएको सुदूरपश्चिम प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४१० भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । ३०१ वटा निजी घर ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ ।