हिन्दु र मुस्लिम समुदायमा धार्मिक सदभाव खल्बल्याएर मधेसमा एकता भाँड्ने प्रयास भइरहेको छ : यादव

काठमाडौं, असोज १८ : जनता समाजवादी पार्टी (जसपा) का नेता प्रदीप यादवले मधेसमा हिन्दु र मुस्लिम समुदाय सदियौंदेखि मिलेर बजे पनि धार्मिक सदभाव खल्बल्याउने प्रयास भइरहेको बताएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोलेका उनले मधेसमा हिन्दु र मुस्लिम समुदाय सदियौंदेखि मिलेर बसेकामा अहिले उनीहरुबीच तनाव फैलाउने षड्यन्त्र भइरहेको भन्दै विरोध जनाए।
मधेसको राजनीतिक तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता भएको उल्लेख गर्दै उनले भने, ‘मधेस आन्देलनमा दुवै समुदाय मिलेर सँगसँगै रगत बगाएका छन् तर धार्मिक द्वन्द्व फैलाएर मधेसी जनताको एकतालाई तोड्ने काम तीव्र गतिमा भइरहेको छ। यसले मुलुकलाई फाइदा गर्दैन।’
मधेशमा मात्र नभई नेपाली समाजमै ध्रुवीकरण ल्याउने प्रयास भइरहेकाले राष्ट्रिय सुरक्षामा जटिलता देखिएको पनि सांसद यादवले बताए। उनले द्वन्द्व चर्काउने र हिंसा भड्काउने अभिव्यक्ति दिने जोसुकैलाई कारबाही गर्न माग गरे। ‘पुराना भिडियो काँटछाँट गरेर नयाँ घटनाको रुपमा प्रस्तुत गर्ने र सामाजिक सञ्जालमार्फत हिंसात्मक अभिव्यक्ति दिनेलाई पनि कारबाही गर्नुपर्छ,’ उनले भने, ‘सामाजिक सद्भाव भड्काउने खालका सामग्री राख्ने सामाजिक सञ्जाल फेसबुक, ट्विटर, टिकटक बन्द गर्नुपर्छ।’











